गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Thursday, November 3, 2016

पाहुना

आमा,
तिमिले भन्ने गर्थ्यौ
पाहुना देउता सरह हुन्
तिनलाई बस्ने बास दिनुपर्छ
खानलाई गास दिनुपर्छ
ओढ्न कपास दिनुपर्छ ।


आमा,
पोहोर तिम्रो घाँटी थिचेका
परार हाम्रो आँठो मिचेका 
छिमेकी ठुल्दाइ हिजो हाम्रोमा आए
हाम्रा जेठा दाइले उनको भजन गाए
जेठो दाइले हामीलाई यो भने
हाम्रोमा आएपछि तिनी पाहुना भए रे
पाहुना देउता सरह हुन् भन्थ्यौ नि
अब त ठुल्दाइ  देउता भए रे ।


आमा,
 हाम्रो जेठो दाइलाई के भएको ?
ती पाहुनासँग न त आँठो मिचेको बारे बोल्यो
न त घाँटी थिचेको बारे बोल्यो
उसले त एउटै काम मात्र गर्यो
हामि भाइबैनी सबैलाई कोठाभित्र थुन्यो
बाहिर ढोकामा लम्पसार पर्यो
अनि छिमेकी पाहुनाको पाउ मोल्यो


आमा,
मलाई एउटा कुरा भन
के तिमीले जेठो दाइलाई यहि सिकाएकी हौ ?
सिकाएकी हौ भने
आजबाट तिमीलाई आमा मान्दैन
सिकाएकी हैनौ भने
तिम्रो घाँटी थिच्ने पाहुनालाई देउता भन्दैन ।

No comments:

Post a Comment