गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Saturday, September 12, 2015

माग्नेहरुको देश

आफ्नो कालो छाला देखेर
कालो दुर्व्यवहार गर्नेहरु सँग
ढाका टोपी लाउने मान्छेलाइ  मात्र
नेपाली भनि अहङ्कार गर्नेहरु सँग
दिपेन्द्र झा र हरेराम चौधरीले
मधेसमा बिद्रोह गरिरहेछन्
म नेपाली हुँ, नेपाली भन भनिरहेछन्
                      र
मागीरहेछन् आफ्नो गुमेको स्वाभिमान ।

आफ्नो थर थाहा पाएपछी
घरबाट निकालेको घरबेटी सँग
आफ्नो जात थाहा पाएपछी
प्रेम गरेर नि बिहे गर्न नमानेकी केटि सँग
दुर्गा सुनार र रामु बिकले
पहाडमा बिद्रोह गरिरहेछन्
जातिय विभेद अन्त्य गर भनीरहेछन्
                       र
मागीरहेछन् दलितको हक र अधिकार ।

कसैसँग हाँसेर बोलेकै भरमा
चरीत्रहिनको आरोप लाउनेहरु सँग
पोथी बासेको राम्रो हुन्न भन्दै
हेपाहा भालेको कुखुरी काँ गाउनेहरु सँग
अस्मिता कार्की र बिहानी पंगेनीले
सडकमा बिद्रोह गरिरहेछन्
महिला र पुरुष समान हुन् भनीरहेछन्
                        र
मागीरहेछन् आमाको नामबाट नागरिकता ।

तेरो पुर्खाले मेरो पुर्खालाई हेपेथे रे
अब म तँलाई हेप्छु भन्दै उफ्रनेहरु सँग
चुच्चो नाकको र टुप्पी पाल्नेहरु सबै
सामन्तीहरु  हो भन्दै पाखुरा सुर्कनेहरु सँग
हरि प्रसाद उपाध्याय र प्रविन क्षेत्रीले
साउदीमा बिद्रोह गरिरहेछन्
भेँडाको गोठालो म कसरी सामन्ती भनिरहेछन्
                         र
मागीरहेछन् सामन्तिको असली परिभाषा ।

जनताको अघि  चिच्याएर भाषण गर्दै
विस्तारवादी भन्दै गाली गरेकाहरु सँग
मेरो देशको सिमाका जंगे पिल्लर
रातारात सुटुक्क अन्तै सारेकाहरु सँग
मेरो देशका लज्जाविहिन नेताहरुले
विदेशी दुतावासमा अंकमाल गरिरहेछन्
प्रभुको चरणमा  लम्पसार परिरहेछन्
                         र
मागीरहेछन् प्रभुका आशीर्वादहरु ।

अचेल मलाई लाग्न थालेको छ
मेरो देशमा सबै माग्नेहरु मात्र छन्
तर थाहा छैन दिनेहरु को हुन् ??