गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Monday, May 12, 2014

साथीको प्रेमकथा (१)

आज शनीबार.....  मतलब बिदाको दिन | साथीहरु उनीहरुको पूर्वयोजना अनुसार थापा दाइकोमा तास खेल्न गएकाछन् | मलाई पनि हिँड भन्दै थिए | तर तास खेल्न नजान्ने म हेर्नको लागि मात्र के जानु भनेर कोठामा एक्लै बसिरहेको थिएँ | ज्यानबाट जाँगर भन्ने चिजले बसाई सारेको धेरै भैसकेको थियो | यहि मौका हेरेर आलस्यताले मेरो शरीरमा अड्डा जमाउने कोसिस गर्दै थियो | तर आज म जसरी भए नि कोठा सफा गर्ने सुरमा थिएँ | त्यसैले अल्छी लाग्दालाग्दै पनी मेरो र साथीहरुको बेडमा रहेको धुलो झार्दै थिएँ | यतिकैमा एउटा साथीको बेडबाट धुलोसँगै एउटा डायरी पनि खस्यो | मेरा आँखा हल्का रातो कलरको त्यो डायरीमा परे | डायरीलाई हातले टिपें र त्यसको आवरणमा लेखेको "निसान" भन्ने नाम पढें | नाम पढेपछी थाहा भयो, यो मेरो साथी निसानको डायरी रहेछ | निसान हामी अरु साथी भन्दा अलि गम्भिर जस्तो लाग्थ्यो मलाई | बोल्दा निकै साहित्यिक पाराले बोल्थ्यो | कथा, कविता के-के लेखिरहन्थ्यो | अघिसम्म कोठा सफा गर्न तम्सिएको मलाई डायरी देखेपछी भित्र के-के लेखेको रहेछ भनेर पढ्न मन लाग्यो | अनि उसकै बेडमा बसेर उसको डायरी पल्टाउन थालें |

डायरी पल्टाउँदै जाँदा कतै गजल कतै कविता कतै गित लेखेको रहेछ | कविता गजल पढ्न झ्याउ लाग्ने मेरो बानीले गर्दा पानाहरु फटाफट पल्टीरहेका थिएँ | यतिकैमा मेरा आँखा र हात एकैचोटी डायरीको एउटा पानामा अडिए | त्यस पानाको दायाँतिरको माथिल्लो भागमा Date:2014/5/9 लेखेको थियो | अनि त्यसको  तलतिर अनि केहि बायाँतिर पर्ने गरि  "मेरो प्रेमकथा" भनेर अलि गाढा अक्षरमा लेखिएको थियो | यो शिर्षक देखेपछी मलाई त्यो कथा सबै पढ्न मन लाग्यो | त्यसको एउटै कारण थियो कतै यो निसानको आफ्नै  प्रेमकथा पो हो कि भन्ने मेरो खुल्दुली | म ढिला नगरी कथा पढ्नथालें | कथा यसरी लेखिएको थियो....

------------------------------------------------------------------------------------------------------------
                     
थाहा छ मलाई यो सब नलेखेकै ठिक छ | यो पनि थाहा छ कि यो नलेखे सम्म म ठिक हुन्न | तर थाहा छैन के यो लेखेपछी म ठिकठाक हुन्छु ? जे होस् आज म लेख्छु उनीसँग गुजारेको मेरो ४-५ बर्षे हाँसो र आँशुको कक्टेल कहानी...

म साँझको क्लासमा केटाहरुसँग जिस्किदै बसिरहेको थिएँ | र आँखा भने यताउति फिजाईरहेकै थिएँ | थाहा थिएन के को खोजीमा आँखा फिजाईरहेको छु भनेर म आफैलाई पनी |  यतिकैमा मेरो आँखा सेतो टि-सर्ट लगाएर अरु केटीहरुसँग हाँस्दै गफ गरेकी एउटी केटीमा अडिए | औसत नेपाली केटी भन्दा केहि गोरी, अगाडिको थोरै कपाल काटेकोले आँखा वरिपरी फुरफुर गरिरहेको | आँखामा गाजल थियो कि थिएन अहिले बिर्सिएँ | धेरै अग्ली नि हैन होची नि हैन एकदम ठिक्क कि पुतलीजस्ती | त्यहि माथि हाँस्दा एकदम सुहाउने उसको अनुहार | मलाई पहिलो हेराइमै उ एकदम राम्री लागी | उसलाई मैले पहिलो बर्षको क्लासमा देखेको थिएँन | म  उ सँग बोल्ने कसरी भनेर सोच्दै थिएँ | यतिकैमा सर क्लासमा पसे | म अब सरतिर आँखा फर्काउन थालें |
आँखा सरतिर तर मेरो ध्यान भने त्यो केटीतिर थियो | अझै कुनै बेला त आँखा नि अटेरी बनेर उसैतिर सोझिन्थे | मलाई उसको बारेमा साथीसँग सोध्न मन लाग्यो | खुसुक्क सोधें | ओइ पल्लो साइडको दोस्रो बेन्चको छेउमा बस्ने केटि हेर न | साथीले चोर बिरालोले दुधको भाँडो हेरे जसरि उसलाई हेर्यो र भन्यो.. अँ हेरें, किन हेर भनेको ? मैले जिस्किदै भनें राम्री लागेर हेर भनेको तैंले चिन्छ्स् उसलाई ?
चिन्दिन.. अलि डाह गरे जसरी भन्यो | चिन्नु पनि छैन अब तलाईं मन परिसकेछ | साले..! हेर डाह गरेको | म अलि ठुलो स्वरले बोलेछु क्यार सरले आँखा तरे |

सरले आँखा तरेपछि बोल्न बन्द गरियो | सर लेक्चर दिएर पनि गैसके | अब आजको क्लास सकियो | म साथीहरुलाई बाई..  भन्दै झोला भिरेर कोठातिर आँए | कोठामा आएर पनि आज क्लासमा देखेको उसको मुहार आँखामा डुलीरह्यो | म आफै छक्क परिराको थिएँ | कोहि केटी झट्ट मन नपर्ने मलाई उ भने देखेदेखि नै पहिलेबाटै चिनेको जस्तो गरि आत्मिय लाग्दै थिइ | मन पर्दै थिइ | भोली उसँग जसरि नि बोल्नु पर्छ भन्ने सोच्दै म खाना खाएर सुतें |

म सरासर क्लासभित्र पस्दैथिएँ | आँखा हिजो उ बसेको बेन्चतिर सोझीए | ल उ त आज पनि हिजोकै ठाउँमा बसेकी रहिछे | मेरो मनले खुट्टालाई आदेश दियो उ बसेको बेन्चतिरै जा भनेर | खुट्टा आज्ञाकारी बच्चा जस्तो लुरुलुरु अघि गयो उ बसेको बेन्च नजिकै | फेरी मनले आदेश दियो मलाई उसैसँग बस भनेर तर खुट्टाले टेरेन र उ बसेको भन्दा पछिल्लो बेन्चमा लगेर छोड्यो मलाई | म त्यही पछिल्लो बेन्चमा बसें | आज त जसरि नि बोल्नु थियो उसँग | त्यसैले मैले म सँगै बेन्चमा बसेको नयाँ जस्तो लाग्ने साथीसँग परिचय गर्न थालें | तर निकै कुटनीतिक तरिकाले | अगाडी उसले सुनोस्  भनेर मैले अलि जोडले बोल्दै नयाँ नयाँ साथीहरु पो देख्छु आजभोली क्लासमा धेरै | तिमीलाई नि फर्स्ट टाइम देख्दै छु | म निसान पोख्रेल घर पाल्पा अनि तिमी ? भन्दै हात मिलाएँ | उसले म अशोक बि सी घर इलाम भन्दै आफ्नो परिचय दियो | हाम्रो परिचय हुँदै गर्दा अगाडी बसेको उसले थोरै पछाडी फर्केर हेरे जस्तो गरी | मलाई मौका मिलिहाल्यो उसलाई सोधिहालें | तिमी पनि नयाँ जस्तो लाग्यो | उसले हाँस्दै भनि | हैन नयाँ त तर तिमीलाई नि बल्ल देखें | मैले अलि हतारिएरै भनें बाई द वे म निसान पोख्रेल घर पाल्पा | बोल्दाबोल्दै फिस्स हासें पनी | उसले पनी सहज रुपले परिचय दिई , म रेजिना.... घर चितवन | उसको नाम सुन्न सम्म उत्साहित भएको म उसको थर सुनेपछी एकाएक गलें | मानौं उसको थरमा मान्छे गलाउने कुनै चिज लुकेको छ | हिजो उसलाई देखेदेखि बनाउन थालेको मेरो सपनाको महलको सयौं तलाबाट म एक्कासी आफ्नो धरातलमा खसें | ज्यान भारी भयो | पिसाब आउला जस्तो भयो | ट्वाइलेट गएँ तर पिसाब आएन |

कोठामा आएपछी के उसलाई मेरी बनाउन उसको थरले रोक्छ ? के मेरो समाजले यो स्वीकार्छ ? यस्तै यस्तै तर्कना गरिरहे मनमनै | फेरी अर्को मनले सोचें उसलाई मैले प्रेमप्रस्ताव राख्ने हो कि हैन , राखेपनि उसले मलाई  पत्याउने हो कि हैन ? त्यसै हावामा यो कुरा सोचेर के टेन्सन लिरहनु भनि सुतें |
दिनहरु बितिरहेकै थिए | कोठा क्याम्पस- कोठा क्याम्पस दैनिकी यहि थियो | काठमाडौँ आएको पनी ३ बर्ष पुगिसकेको थियो | उपलब्धी खासै केहि भैरहेको थिएन | टेन्सन बिस्तारै बढ्दै थियो जिन्दगीमा | तर नि क्याम्पस आएपछी साथीहरु सँगको सामिप्याताले टेन्सन आफै टाढा भाग्थ्यो | अनि रेजिना सँग पनि बोलचाल बाक्लिदै थियो | उ पनि नजिकिंदै थिई | सरले पढाउँदा पनि रेजिना र म कापीमा अनेक कुरा लेख्दै एक-अर्कामा कुरा गरिरहेकै हुन्थ्यौं | कहिले काँही उ अरु केटाहरु सँग पनि यस्तै तरिकाले कुरा गर्थी | मलाई खासै त्यस्तो केहि फिल हुने थिएन | तर उ म सँग मात्र यस्तो कुरा गरोस् जस्तो भने हुन्थ्यो | म उसलाई आफ्नो सीमामा बसेरै माया गरिरहेको थिएँ | र सायद उ पनि मलाई मन पराउँछे जस्तो लाग्थ्यो कताकता |

एकदिन क्लासमा रेजिनासँगै एउटा नयाँ केटी देखिई | मैले उसँग आफ्नो परिचय गरें | उसले आफ्नो नाम रिना बताई अनि घर चितवन | मैले मेरो नाम भन्दा उसले ओ..!! निसान भनेको तिमी पो हो ? भनि ...मानौं मेरो बारेमा  पहिले बाटै  उसलाई थाहा थियो जसरि | मैले  हो त तर किन पहिले नि सुनेको थियौ र मेरो नाम भनि सोधें | उसले लजाउँदै भनि बजारमा तिम्रो चर्चा छ नि त | "बजारमा तिम्रो चर्चा छ नि त" रिनाको यो बोलीले म झसङ्ग भए | बजारमा चर्चा त्यो पनि मेरो हाहा भन्दै हाँसे |

हाँस्न त हाँसे तर उसको त्यो बोलिले मलाई केही दिन बेचैन बनायो | पछी थाहा भयो रिना रेजिनाको एकदम मिल्ने साथी रे | भनेपछी बजारमा मेरो चर्चा गर्ने त्यहि रेजिना थिई | मन गदगद भयो | मलाई पनि उसले मन पार्छे भन्ने मेरो आशामा झन् बल पुग्यो | अब त आँखावरिपरी रेजिना घुम्न थाली | राती सपनामा म संगै हात समाएर कतै एकान्तमा घुम्न हिंड्नथाली |
एक दिन क्लासमा मैले रेजिनाको कपिमा रेजिना तिमी चोर हो ? कसैको मन चोरेछौ भनेर लेखेर देखाएँ | उ हाँसी मात्र आँखा छड्के पारेर हेरेर | खै मेरो कुरा बुझीहोली कि ?? के हाँसो को अर्थ मनको कुरा बुझ्नु पनि हो ? म २-४ दिन यहि कुराको वरिपरी घुमिरहें |

 हामी क्याम्पसबाट घर फर्किने बेला अशोकले मलाई अली गम्भिर बनेर भन्यो | एउटा कुरा भन्छु अरुलाई नभन्  ल  | मैले भन न पहिले भनें | उ हल्का नर्भस हुँदै भन्यो, यार...रेजिना एकदम मन पर्छ | तर भन्ने आँट छैन | तँ त बोल्न नि सक्छस मिलाईदेन यार प्लिज | म झसङ्ग भएँ | सिङ्गै आकास म माथी खसे जस्तै भयो | मुटुमै ताकेर कसैले मलाई बाँण हानेजस्तो भयो | पिलित्त आँसु चुहिएला जस्तो भयो | तर अशोकको अगाडी सम्हालिएर बोलें | हुन्छ नि यार म रिना मार्फत कुरा पुर्याईदिउँल | चिन्ता नलिग् भने | अशोकको सामु समाल्लीएको म कोठामा पुगेर बेप्रवाह रोइरहें |

क्याम्पसको क्यान्टिनमा म र रिना मात्र थियौं  | त्यसैले अशोकको कुरा रेजिना सम्म पुर्याउने यो सुनौलो अवसर थियो | म रेजिनालाई माया गर्थें | तर उसलाई बिहे गर्न मेरो समाजले कोरेको सिमा नाघ्न म मा आँट थिएन | त्यसैले आफ्नो मायाको बली चढाएर म साथीको प्रेम सफल पार्न इमान्दारीपुर्वक लागेको थिएँ | रेजिनालाई उसलाई माया गर्छु भन्ने थाहा नदिंदै म मेरो प्रेमको हत्या गर्न विवश  थिएँ |

कुराको शुरुवात मैले नै गरें | रिना एउटा कुरा भन्नुथियो तिमीलाई माइन्ड नगर है | उ केहि असहज बनेजस्तो गरि र भनि भन न किन माइन्ड गर्नु | अनी मैले आफुले आफ्नै घाँटी रेटेंजतिकै पिडा महशुस गर्दै रेजिनालाई कसैले मन पार्छ , के तिमी उ सम्म यो कुरा पुर्याईदिन्छौ ? भनेर सोधें | अनि फेरी भनें मैले हैन नि फेरी |
उ हाँसी र भनि तिमीले त मिल्दैन भन्ने मलाई थाहा छ | तर कसले हो मन पार्ने भन न प्लिज गर्दै लेघ्रो तानी | अशोकले... मैले छोटो जवाफ दिएँ | मलाई पनि अशोकले नै होला जस्तो लागेको थियो भन्दै उसले अझै कुरा थपी.. क्लासमा नि मैले नोटिस गरेको छु रेजिना कोहि केटासँग बोले अशोक रेजिना सँग रिसाएजस्तो गर्थ्यो | म रेजिनालाई भनिदिउँला | तर कुरा एस हुन गार्है होला | एस होस् कि नहोस् मलाई बाल थिएन | मैले गर्नुपर्ने काम गर्दीसकेको थिएँ |  म मन बहलाउनको लागी रिनालाई प्रश्न सोधें तिमीलाई मन पार्ने पनी होलान् नि कोहि ? उ मलाई हेरेर लजाई मात्र  | एक ठाउँमा ठक्कर खाएको मेरो मन भने अब रेजिना बाट रिनातिर सरिरहेको थियो | थाहा छैन यो मायाले सरेको मन हो वा विवशताले |

                                                         ....... क्रमश ......