गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Saturday, October 4, 2014

दशैं

मान्छेको आफ्नो सम्पती भन्नु के हो ? वर्तमानमा आफुसँग भएको धन/पैसा,घर,गाडी,जग्गा लागायतका भौतिक बस्तु ? अथवा विगतमा आफुले गरेका कामको तिता-मिठा स्मृतिहरु ? कि भविष्यमा आफ्नो मृत्युपछी यो यस्तो थियो यो उस्तो थियो भनेर मान्छेले आफूमाथी गरेका मुल्याकंनको बोली ? सर्सर्ती सोच्दा यि तिनै चिज हाम्रा सम्पति हुन् । यि मध्येपनी सबैभन्दा मुल्यवान सम्पती कुन होला ? यसमा हामीहरुका आफ्नै छनोट र तर्क होलान् । हामीलाई कहिले भौतिक बस्तु कहिले स्मृतिहरू त कहिले मृत्युपछिका मुल्याकंनहरु महत्वपुर्ण र मुल्यवान सम्पतिहरु लाग्न सक्छन् । मलाइ भने कुन चाहिँ मुल्यवान भन्ने कुरा समय,परिस्थिति र मनस्थितीमा निर्भर गर्छ जस्तो लाग्छ । र आज मैले गुजारिरहेको समय सामना गरिरहेको परिस्थिती र मेरो आफ्नै मनस्थितीले सबैभन्दा मूल्यवान सम्पती भन्नु विगका तिता-मिठा स्मृति नै हुन् भन्ने अनुभुत गराएको छ ।

समयले आज एकादशी..त्यो पनी दशैंको बेलाको । हिजैमात्र नवमी र दशैंको टिकाको दिन थियो नेपालमा । परिस्थितीले आज म आफ्नो देशभन्दा धेरै टाढाको देश कोरियामा छु । तर मनस्थितीले भने म मेरो आफ्नै गाउँमा छु । जबजब चाडवाड आउँछ तब विदेशमा बस्नेलाई आफ्नो देश,गाउँ,परिवार,साथीभाई र आफ्नो विगत एकदमै तिब्र रुपले सम्झनामा आउनेरहेछन् । यो अनुभव मैले विगत ३ बर्षदेखी गर्दै आएको छु । यसपाली समेत गरि म लगातार ४ वटा दशैंमा घरमा छैन । अर्थात मलाई ४ बर्षदेखि दशैं आएको छैन । मेरी आमालाई पनी आएको छैन दशैं यो ४ बर्षमा । यो कुरा मैले फोनमा म सँग कुरा गर्दा नरमाइलो गरि बोल्ने उहाँको बोलीबाट प्रष्ट थाहा पाउँछु ! तर पनी म भन्न छोड्दिन आमा दशैँ राम्रो सँग मनाउनु है | उसैगरी आमाले पनी मलाई भन्न छोड्नुहुन्न दशैं राम्रो गरि मनाए बा....!

यो निरस नरमाइलो बेला मलाई आफ्नो मुल्यवान सम्पतीले केहि ढाडस र केहि राहत दिन्छन् । हो,..मलाई तिनै विगतका स्मृतिले मन बहलाउन,खुशी हुन र सन्तुष्ट हुन सहयोगी भूमिका खेल्छन् । त्यसैले त मलाई यि चिजहरु सबैभन्दा मुल्यवान सम्पती लागेकोछ आज । म हराउँछु आफ्नै विगतमा र मनमनै आहा ति दिनहरु भन्छु । आहा ति दिनहरु.... जुनबेला संसार भन्नु आफ्नो गाउँठाउँ मात्र हो जस्तो लाग्थ्यो, खल्तीमा १ रुपियाँ थिएन तर मनमा लाखौँ पर्ने खुशी र ओठमा हजारौं पर्ने मुस्कान थियो । र थियो आफ्नै सुन्दर संसार । दशैं आउँथ्यो र त सँगसँगै ठुलाठुला खुशी पनी आउँथे । दिक्कलाग्दो स्कुल जानुपर्ने दिन गएर रहरलाग्दो बिदाको दिन आउँथ्यो । ठाउँठाउँबाट च्यातिएको फोहोर पुरानो लुगाको सट्टा चिटिक्क परेको नयाँ लुगा आउँथ्यो । र पैसाको स्पर्श गर्न नपाएर रुख्खिएका हातमा १०-२० रूप्पे दाम आउँथ्यो ।

दशैं आएपछि रातो माटो र चुना/कमेरोले सिंगारिएका घर चिटिक्ककी राम्री बेहुलीझैं देखिन्थे । विदेशबाट फर्किएका लाहुरेले हामी फुच्चाफुच्चीलाई एकएकवटा चक्लेट दिन्थे । त्यो बेला म मनमनै एउटा सपना बुन्थें,ठुलो भएपछी लाहुरे हुन्छु अनी धेरै चक्लेट किन्छु र अघाउन्जेल खाएर खुशी हुन्छु । तर अघाउन्जेल चक्लेट खाएर खुशी हुन नसकिने रहेछ भन्ने कुरा बिस्तारै समयले सिकायो मलाई । घटस्थापना शुरु हुन भन्दा पहिले नै हामी जुक्खोली र निउरेको जंगलमा छापामार शैलीमा कटुस/कटस खोज्ने गस्ती गर्थ्यौं । जसको एउटै कारण थियो दुर्गा लागेपछि कटुसभित्र किरा लाग्छ भन्ने बुढापाकाको भनाई । खुट्टा र हातभरी बिझ्ने कटुसका काँडाको केहि प्रवाह हुन्थेन हामीहरुलाई । हाम्रो गाविसमा मर्भुंग र दघाँस गरि २ वटा कोट ( प्राय मैदान आसपासमा हुने र सायद पहिलेका भुरे टाकुरे राजाहरु बस्ने घर - दुर्गा मन्दिर)छन् । घटस्थापनाको अघिल्लो दिन नै कोटमा को पुजारी बस्ने भनि छलफल गरेर टुङ्गो लगाउँथे । २ जना उपाध्याय बाहुन र एक जना क्षत्री पुजारी चुनिन्थे । मलाई आफु जैसी बाहुन भएकोमा सबैभन्दा नरमाइलो यही बेला लाग्थ्यो । कारण जैसी बाहुनले कोटको पुजारी हुन पाउँदैनथे । बाहुन पुजारीको हामीहरु खासै चर्चा गर्ने थिएनौं तर क्षत्री पुजारीलाई भने निकै खतरा र बलियो भनि चर्चा गर्थ्यौं । नवमीमा बलि दिने पाडा(राँगा), बोका र भेंडाको गर्धन चुडाउने मान्छे त्यहि क्षत्री पुजारी हुन्थ्यो त्यसैले नै उसको हामी यति धेरै चर्चा गर्थ्यौं ।

घटस्थापनाको दिन आमाले नयाँ टपरीमा माटो राखी त्यसमाथि जौं र मकैका दाना छरेर घरभित्र घामको प्रकास नपर्ने ठाउँमा राख्नुहुन्थ्यो । किन अध्यारोमा राखेको आमा भनेर सोध्दा घाम परे जमरा हरियो हुन्छ भन्नुहुन्थ्यो । जमरा हरियो भए के हुन्छ भन्यो भने जमरा पहेंलो हुनुपर्छ त्यसैले हरियो हुनुहुन्न भन्नुहुन्थ्यो । साँच्ची खासमा जमरा किन हरियो हुनुहुन्न भनेर मलाई अहिले पनी थाहा छैन । द्वितीयाको दिन हामी कि कुँवरको डाँडामा कि नागेधाराको डाँडामा दुइज ( द्वितीया तिथिमा उदाएको चन्द्रमा) हेर्न भनेर जान्थ्यौं | त्यो दिन चन्द्रमा सुकेनास लागेर सुकेको बालकजस्तो र हसिँया जस्तै घुमेको देखिन्थ्यो । त्यो दिन चन्द्रमा देखे धर्म हुन्छ भन्थे दिदीहरु । धर्म कमाउने लोभमा हामी चन्द्रमा हेर्न जान्थ्यौं । त्यसपछि नवमी सम्म फूलपाती र महाअष्ठमीजस्ता (कालरात्रि) मुख्य दिन परे पनी हामी सानो भएकोले कोटमा हेर्न जान अनुमति हुने थिएन घरबाट । त्यसैले यो बिचमा खासै रमाइलो हुने थिएन ।




नवमीको विहानदेखि नै कोटमा मेला हेर्न (राम हेर्न) जान नुहाउने,नयाँ लुगा लाउने,चोर्न पाए दिदीहरुको लुकाएर राखेको सेन्ट(प्रफ्युम) हान्ने अनी कपालमा बाक्लै तोरीको तेल लगाउने कार्यकम चल्थ्यो । अलि उमेर बढ्दै गएपछि भने कपालमा बाक्लो तेल लाउन र दिदीहरुको सेन्ट चोर्न छाडियो । तर पनी सके सम्म झिल्के हुने कसरत भने गरिराखियो । :) खाना खाएर कोटमा निस्कने बेला बाले जेरी खान १०-२० रुपैयाँ दिनुहुन्थ्यो । त्यो अहिलेको १०-२० लाख भन्दा धेरै ठुलो लाग्थ्यो मलाई । कहिलेकाँही आमाले सुटुक्क एक्स्ट्रा ५-१० रुपियाँ नि थप्दिनुहुन्थ्यो । जब पैसा खल्तीमा पर्थ्यो नि त्यो बेला खुट्टाले एकलट धर्ति छाड्थे, मतलब भुइँमा खुट्टा हुने थिएनन् । कोट गएपछि पटका बन्दुक,बेलुन र मिठाई किन्दा पैसो सकिन्थ्यो । केहि समय स्कुलका साथिहरु भेटेर गफ मारिन्थ्यो । केहि समय राँगा पाठा काटेको हेरेपछि अलि ठुला दाईदिदीहरुको पिछा गरिन्थ्यो । पिछा लागिरहेपछी तिनले जेरी जो खुवाऊंथे । :) कोटबाट फर्केपछि कती राँगा एकै चोटमा छिनिएनन्,काठेपिङ(रोटेपिङ) खेल्दा को डरायो लागायत यस्तै कुरा चलिरहन्थे हामी केटाहरुबीच ।

हिजैमात्र नुहाएर पनी फेरी दशमीको दिन पनी नुहाउनै पर्दा भने एकदम झ्याउ लाग्थ्यो । सबै तयारी पुरा भएपछी दाई,दिदिहरु,म,बहिनी,भाउजु र भतिज/भतिजी क्रमैसँग बसेर बुवाआमाको हातबाट टिका जमरा लगाउँथ्यौं । टिका लगाएपछी दिदी-बैनीहरुलाई र भतिजीहरूलाई बुवाआमाले पैसा दिनुहुन्थ्यो | तर हामी छोरा/नातीले भने पैसा पाउँदैनथ्यौं । मलाई फेरी एकचोटी आफु छोरो भएर जन्मेकोमा ठुलो पछुतो हुन्थ्यो । टिका लगाउँदा बुवाआमाले अनेक आशिष दिनुहुन्थ्यो । मलाई एकदमै लाज लाग्थ्यो त्यो बेला । बुवाआमापछी दाई दिदि भाउजुले पनी टिका लगाईदिन्थे । अनी एकछिनमा खाना खाएपछि बैनी र म सँगै गाउँमा टिका लगाउन निस्कन्थ्यौं ! हाम्रो साथमा टिका लगाएपछी गाउँलेले खानदिने रोटी जम्मा गर्ने एउटा ठुलो प्लास्टिकको ब्याग पनी हुन्थ्यो । त्यसरी संगालेको रोटी पछी खान क्या मज्जा हुन्थ्यो । :) टिका लगाएर बैनीलाई दिने दक्षिणा (पैसा) आधाआधा बाँड्ने सर्तमा मैले बैनीलाई आफुसँगै गाउँमा टिका लगाउन लैजान्थें । मसँगै हिड्न पाउने भएपछी बैनीले नि सर्त खुशीले स्विकार्थी । तर त्यसमाथि पनी मेरो अर्को एउटा सर्त हुन्थ्यो बैनीलाई ... हाम्रो यो सम्झौता घरमा अरु कसैलाई थाहा नहोस् नि भन्ने । विचरी हुन्छ भन्ने संकेतको टाउको हल्लाउँथि । यसरी मैले जे भने पनी खुरुक्क मान्दा मलाई बैनीको धेरै माया लाग्थ्यो । अनी म मेरो पछिपछी रोटी जम्मा गर्ने ब्याग बोकेर आइरहेकी बैनीलाई फर्केर हेर्थें । मैले हेर्दा बैनी मुसुक्क हाँस्थी अनी म पनी गजक्क परेर हाँस्दीन्थें ।

टिकाको पर्सिपल्ट दघाँसको सरायँ(गुल्मी,पाल्पा र अर्घाखाँचीमा प्रख्यात दशैं विशेष नाँच)अनी त्रिरादाशीको दिन ठुल्चौरको सरायँ र पुर्णिमाको दिन अर्जेको सरायँ हेर्ने,खोरखोरे(लंगुरबुर्जा) खेल्ने,जेरी खाने र काठेपिङ खेल्ने लगायतका विविध रमाइलो सँगै दशैं जान्थ्यो । त्यसरी धुमधाम रमाइलो गराएर जान्थ्यो र पो दशैं पनि दशैं जस्तो लाग्थ्यो । तर अहिले त यसरि अर्काको देशको एउटा कोठामा बसाएर विगतका दशैंका स्मृतिहरु ल्यापटपको किबोर्डमा छरपस्ट पार्न लगाएर जाने दशैं कम्तिमा मेरो लागी दशैं जस्तो नबनी गयो ।।




{ फोटो श्रोत: www.google.com }