गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Thursday, July 31, 2014

राजधानी

उसले भन्यो हेर्.. यो राजधानी हो
दोहोराएरै भन्यो यो राजधानी हो
यहाँ राज गर्ने कला सिकाइन्छ
बन्दुक बोक्न सिकाइन्छ
लाठी हान्न सिकाइन्छ
सिकाइन्छ सुल्टोलाई उल्टो भन्न
र उल्टोलाई सुल्टो भन्न
अझ भनुँ एउटा सभ्य मान्छे बन्न !


भन्यो ! तैंले सिक्नैपर्छ यि सबै कुराहरु
हैन भने तँ डाइनोसर बनि बिलाउँछस्
उल्टो पदचापमा पाइला मिलाउँछस्
यो तेरो झुत्रे गाउँ हैन
जहाँ पानी माग्दा मोही पाइन्छ
यो त सुकिलो राजधानी हो
 सित्तैमा न केहि पाइन्छ न कोही पाइन्छ !


बेचैन हुँदै म उसलाई सुन्छु
हो भनुँ वा हैन भनुँ दोधारमा हुन्छु
मन दह्रो पारेर उसलाई भन्छु
तेरो राजधानीसँग हात मिलाउनु छैन
डाइनोसर बनी बिलाउनु छैन
म मेरो वंश धान्न चाहन्छु
जिन्दगी के हो ? जान्न चाहन्छु
मलाई राज गर्नु छैन
राज्यविहीनतामै फक्रन चाहन्छु
मलाई माफ गर
मेरो झोला ले म गाउँ फर्कन चाहन्छु !


मेरो कुराले उ बर्सन लागेको बादल बन्छ
बर्बराउँदै मलाई गाउँले पाखे भन्छ
अनी विपरित दिसातिर हेर्दै
मेरो हातमा झोला थमाइदिन्छ
म हात्तीछाप चप्पलको पिटीपिटीसँगै
पछाडी नफर्की बसपार्कतिर हिँडीरहन्छु
सायद पिटीपिटी उ नमिठो मानी सुनिरहन्छ !


तर विडम्बना !! जब म बसपार्क पुग्छु
तोडफोड गरीदै हुन्छ, टायर बालिदै हुन्छ
त्यहाँ त राज गर्ने कला सिकाईंदै हुन्छ
राजधानी बन्द गर्न कार्यकर्ता झिकाईंदै हुन्छ
अब भने म शिथिल हुन्छु
सुइय सुस्केरा हाल्छु
अनी उसले भनेको सम्झन्छु
हेर्..... यो राजधानी हो
यहाँ राज गर्ने कला सिकाइन्छ !!