बारीको कबिलीको लहराझैं झाँगिएका
मेरा ठुला ठुला सपनाबाट, म ब्युँझन चाहन्छु
जनै पुन्नुको डोरोले जेलिएको हातझैं
जेलिएका असिमीत चाहनाबाट, म उम्कन चाहन्छु
संसारै बुझेको भ्रम झिक्न चाहन्छु
साँच्चै, म केही सिक्न चाहन्छु !
त्यसैले, मलाई भन्देउ गाउँले बा-आमा....
भुसाले भरिएको सुल्फाको ओठमा
मार्चिसले आगो लगाउँदा,
उडेको धुँवासँगै ठुला-ठुला सपना उडाउन कसले सिकायो ?
बेसीको खेतमा १० धोंक्रो बरकिम्लो बढी राख्दा
१० पाथी धान धेरै फलेकैले
ओठमा यति जातिबिती मुस्कान फलाउन कसले सिकायो ?
चैते खडेरीको कुन्टोझैं सुकेको
मेरो हिम्मतलाई, म आशाको पानीले भिजाउन चाहन्छु
दशैंमा राखेको जँराझैं प्याँलिएको
यो जिन्दगीलाई, म पास्सेको सागझैं बनाउन चाहन्छु
ब्रमाण्डै बुझेको भ्रम झिक्न चाहन्छु
साँच्चै, म केहि सिक्न चाहन्छु !
त्यसैले मलाई भन्देउ गाउँले बा-आमा
मनको भारी बिसाउन म आउने कुरा जानेर
तिमीहरुलाई चौपारी बन्न कसले सिकायो ?
जिन्दगी यात्रा हो भन्ने त थाहा थियो
तर यात्रु नआउँदै यो बाटो खन्न कसले सिकायो ?
{ यो कवितामा बिशेष गरी गुल्मी, अर्घाखाँची र पाल्पामा प्रयोग हुने स्थानीय झर्रा शब्दहरुको प्रयोग गरिएको छ ! ति शब्दको अर्थ यसप्रकार छ । }
१. कबिली - फर्सी
२.जनै पुन्यु - जनै पुर्णिमा
३. डोरो - रक्षाबन्धन
४. भुसा - चुरोटको भित्र हुने सुर्ती जस्तै गाउँघरे सुर्ती
५. सुल्फा - भुसा भरेर धुँवा खान मिल्ने गरी बनाएको माटोको भाँडो
६. धोंक्रो - बोरा
७. जातिबिती - धेरै
८. कुन्टो- कुवा
९. जँरा -जमरा
१०. बरकिम्लो - बाख्राको बड्कौंलो
११. पास्सेको साग - रायोको साग
१२. चौपारी - चौतारी
१३. मार्चिस - सलाई