सन् २०१८ को पहिलो नयाँ बिहानी पनी अरु पुराना बिहानी जस्तै उठ्नासाथ मोबाइल हेरेरै शुरुवात गरियो । बर्ष नयाँ तर बानी पुरानै । हैन लोद्दर लाग्छ क्या हो यो बर्ष पनी ?
मोबाइलमा समय हेरें ९ बजेको रहेछ । समय हेरें त भनेँ तर फेरी समय हेर्न मिल्ने चिज त हैन फेरी । समय आफैमा अदृश्य चिज म बबुरोले के देख्नु । अँ, बरु मैले घडी हेरें भन्न मिल्छ । अझ राम्रो शब्दमा भन्दा मोबाइलको घडी हेरें भन्दा पनी हुन्छ । जे होस् मैले घडी हेरें ।
एकाबिहानै मैले समय हेरें कि घडी हेरें भन्ने कुराले मगजमा तर्क बितर्क गर्न थाले । सामान्य कुरामा पनी असामान्य तर्क बितर्क गर्ने आफ्नै मगजसँग झोंक चलिरहेको थियो मलाई । चलेर के गर्नु तर्क गर्न छोड्दैन यो । मेरो मगज यो ठान्छ कि, मान्छेले समय बनाएको हैन बरु समयले मान्छे बनाएको हो । समय त पृथ्वीमा मान्छेको अस्तित्व हुनुभन्दा पहिलेदेखि नै थियो होला । अनि आफ्नो अस्तित्व हुनु अगावै नै ब्रमाण्डमा विधमान रहेको, आफूभन्दा निकै शक्तिशाली भएको र आफैलाई दास बनाएर राखिरहेको समयसँग बदला लिनको लागी, र उसलाई कमजोर बनाउनको लागी मान्छेले समयलाई सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना अनि बर्षमा टुक्राउने दुष्प्रयास गरेको होला ।
समयलाई टुक्रा पारेर कमजोर पारेको भ्रममा मान्छे प्रत्येक बर्ष नयाँ बर्ष भन्दै उल्लास गरिरहेको छ । उल्लास मनाएर के गर्नु, मान्छे समयको दासताबाट मुक्त हुन सक्ने हैन क्यारे ।
समयलाई टुक्रा पारेर कमजोर पारेको भ्रममा मान्छे प्रत्येक बर्ष नयाँ बर्ष भन्दै उल्लास गरिरहेको छ । उल्लास मनाएर के गर्नु, मान्छे समयको दासताबाट मुक्त हुन सक्ने हैन क्यारे ।
यी दार्शनिक कुरा छोडेर सानो मान्छेले साना-साना कुरा गर्छु है त अब ।
बिहानै उठेर बाथरुम छिरेपछी बल्ल याद आयो कि हिजो ब्यागमा तुथब्रस राख्न बिर्सेछु । ब्रस किन्न पसल जानको अल्छिले गर्दा आफ्नै दाहिने हातको चोरऔंलामा टुथपेष्ट राखियो र दाँत माझियो । त्यसै भनेका हैन रैछन् के, "अल्छिले नजानेको जैसीले जान्दैन ।" तर यहाँ चैं चोरऔंलालाई तुथब्रस बनाउन जान्ने अल्छी नि मै हुँ र जैसि नि मै हुँ । 😉
बिहान ब्रस गर्न नपाएर दिन भरी हुने असजिलोबाट जोगियो । आइडियाले गर्दा ।
बिहान ब्रस गर्न नपाएर दिन भरी हुने असजिलोबाट जोगियो । आइडियाले गर्दा ।
फ्रेस भएर रुमबाट निस्कन लागेको मलाई खाना खाएर जान साथीले गरेको अनुरोधले काम गरेन । म साथीको रुमबाट निस्किएँ । निस्कने बेला अब सिधै आफ्नो रुममा जान्छु भन्दै निस्किएको थिएँ । बाटोमा आए पछी भने मुड चेन्ज भयो । लहडी मुडले २०१८ को पहिलो बिहानीको भिडियो खिच्ने आदेश दियो । आदेश मानेर भिडियो खिच्दै हिँडेको बेला ठ्याक्क बिरालोले बाटो काट्यो ।
थुक्क..... यो बर्षको पहिलो बिहानले नै मुड अफ गराई त गयो ।
यति नै बेला टिर्लिंङ.. गर्दै मोबाइलमा म्यासेज आयो । हेरेको,साउले खातामा बोनस हाल्दिएको म्यासेज रहेछ । अलि अघि सम्म अफ भएको मुड एक्कासि अन भई त गयो । बिरालोले बाटो काटेको अशुभ हैन शुभ भयो होउ बिहान बिहानै भनेर खुशी हुन नपाउदै साथीकै रुममा ब्याग बिर्सेर आएको कुरा सम्झिएँ फेरी । यो बिरालोले सानोतिनो भए पनी लोद्दर त लगाएरै छोड्यो त बा... ।
सिधै कोठामा जान मन लागेन । जाने कहाँ त ? आइडिया फुर्यो । बस स्टेसनमा जुन बस पहिले आउँछ त्यहि चढ्ने । जहाँ लैजान्छ त्यतै जाने ।
१२४ नम्बरको बस आयो । चढेँ । कानमा इयरफोन कोचेर मस्तसँग गीत सुनेर सिटमा बसिरहेको मलाई ड्राइभरले बोलाइरहेको रहेछ, थाहै नपाइराको म चैं । किन बोलाएको भनेर सोध्छु त, कहाँ जान हिँडेको तँ भनेर सोध्छ । बस जहाँ सम्म जान्छ त्यहिँ सम्म जाने हो भनेको त फेरी बसको लास्ट स्टेसन नै यहि हो भन्दै हाँस्छ । हत्तेरी...कस्तो हुस्सु म । म यत्तिकै बेपर्वाह घुम्दै हिँडेको कुरा बुझेछ क्यारे, ल ल राम्रोसँग घुम् भन्यो । म बसबाट झरें । म झरेको ठाउँ योल्ली रहेछ ।
योल्लीबाट ५ मिनेट जति अगाडी हिडेर बस स्टेसनमा बस कुरिरहेको बेला ७१४ नम्बर बस आयो । चढेँ । ७१४ नम्बर बस कुन कुन ठाउँमा जान्छ भनेर हेरेको इल्सान सामुन्द्रीक किनारमा पनी जाने रहेछ । इल्सान झरेर समुन्द्र हेर्नुपर्ला भनेर बसमा बसेको आधा घण्टासम्म बस इल्सान जाला भनेको त याङसानमा पो जान्छ त । बिहानै बाटो काट्ने बिरालोले एकलट गाली खायो फेरी । तर गल्ति त मेरै हो, याङसानलाई इल्सान पढ्ने । केहि छैन, पहिले याङसान घुमेको थिएन । आज घुमिने भइयो ।
याङसानमा झरेर केहीबेर घुमेर बस कुरेको ११३७ नम्बर बस आयो । यसले फेरी बिहान पहिलो चोटी बस चढेकै ठाउँ थेवागाङ ट्रेन स्टेसन निर ल्याइपुर्याएछ । एकछिन त झ्याउ पो लाग्यो । कोठातिर जाम् जस्तो नि लाग्यो । तर, समुद्र नहेरी कोठामा नजाने मनको जिद्दीको अघि हार खाएर १०४ नम्बर बस चढेर इल्सान सामुन्द्रिक तटमा झरें ।
वाह.... कस्तो सुन्दर दृश्य । निलो समुन्द्रभन्दा १-२ मिटर माथी सयौंको संख्यामा सेता चरा ( सायद बकुल्ला ) उडिरहेका, मिठो चिसो सिरेठो चलिरहेको, जोडीहरु अंगालोमा बेरीईरहेका र सेतो फिँज छोड्दै छाल किनारासम्म दौडीरहेका । धित मरुन्जेल समुन्द्र हेरें । चरा हेरें । छालको पानी छोएँ । छालको पानी छुँदा मेरै गाउँको पैताला भिजाउँदै बग्ने साउँखोला मलाई छुन बग्दै बग्दै समुन्द्रसम्म आएको र मलाई छोएको अनुभुती गरें र रोमान्चित भएँ ।
। समुन्द्रको एक छेउमा आगो बालेर ताप्दै गरेकी हजुरआमाको उमेर र उनको उमेर जस्तै बढ्दो क्रममा रहेको जाडोबारे कुरा गरेँ । सायद बोल्ने फुर्सद नभएका हरुको शहरमा म उनिसँग २-४ शब्द बोलेकोले होला उनि निकै खुशि भइन् । भोली पनी समुन्द्र घुम्न आउनु, अनि मेरो घर नजिकै छ त्यहिँ गएर सँगै कफी खाउँला भनिन् । सकेसम्म आउनेछु भन्दै म मुस्कुराएँ र बिदा मागेँ ।
२०१८ को पहिलो बिहान बिरालोले बाटो काट्नु शुभ संकेत थियो भन्ने मेरो मनको दाबि छ । ७१ बर्षे कोरियन बज्यैले परदेशको भूमिमा आमाले जस्तो माया देखाउनु, मेरो कारण उनको मुहारमा खुशी छाउनु, एकाबिहानै समुन्द्रको सुन्दर दृश्य देख्न पाउनु, नघुमेको ठाउँ घुम्न पाउनु, बोनस पाउनु शुभ संकेत नभएर के हुन् ?
एकछिन,
एकाबिहानै बिरालोले बाटो काट्दा अशुभ मान्ने बच्चैदेखी हुर्काएको चेतना पनी त छ नि म सँगै । नाथे चेतना त यो भन्छ कि, तुथब्रस बिर्सनु, झोला बिर्सनु, ३-४ वटा बस फेरी फेरी गन्तब्यबिहिन बनेर भौतारिनु, साउले ४ हजार कम गरेर बोनस दिनु यी सब अशुभ संकेत नभएर के हुन् ?
निष्कर्ष,
मन र चेतनाको आग्रह पूर्वाग्रहबाट बाहिर निस्केर म यो भन्न सक्छु कि यी दिन, यी बर्ष, यो समय, यो जिन्दगी र यो ब्रमाण्ड शुभ र अशुभको मिश्रण हो । राम्रो र नराम्रोको मिश्रण हो । त्यसैले जिन्दगीलाई बेपर्वाह सँग जिउन दिउँ । कथित मान्यताहरुको प्रवाह नगरौं । प्रत्येक नयाँ दिनलाई आफ्नो नयाँ जिन्दगी जस्तो गरेर बाँचौ । 😊