गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Saturday, February 18, 2017

रोबोट

'सजिन सानब' भन्ने एउटा कारखाना छ
त्यहाँ काम  गर्ने एउटा अजिव मानव छ !


काम गर्दागर्दै उ हरेक घण्टामा अनेक सोच्छ
उ आफुलाई कामदार भन्दा बढी कवी सोच्छ
र मनको पानामा लेखिरहन्छ
आफ्नो जिन्दगि जस्तै
के नमिले के नमिले जस्तो लाग्ने
छन्द नमिलेका कविताहरु !


उसले भर्खरै मनमा लेखेर
मनमै च्यात्यो एउटा उ जस्तै 'अभागी'  कविता
त्यो च्यातिएको कविता यस्तो थियो.....
" यो सम्झना छैन मलाई
कहाँ आइपुगें म, कहाँ जान हिँडेथें
हातमा छ कात्रो खै किन किनेथें
तर सधै सम्झना छ मलाई
कात्रो उधारो दिने साउजिको अनुहार
कमाउन सकेछु भने उनलाई कात्रोको पैसा दिनेथें !"


अहो ! आज त उ आफुलाई  गायक लाउँदैछ
मेसिनको  कर्कस जित्ने गरि गाउँदैछ
नारायण गोपालको उ जस्तै वैरागी गित
यो सम्झने मन छ, म बिर्सुं कसोरी.....!


गाइरहेको उसलाई गाली गर्दै कोहि करायो
रोबोट बिग्रिराछ भन्दै रोबोट बनाउन अर्हायो
तर उसले रोबोट नबनाई
टाउको छाम्यो र आफ्नै गाला मुसार्यो
एक तमासले आफैलाई हेर्यो र आफैमा हरायो
सायद उसले सोच्दैहोला
रोबोट सँग काम गर्दागर्दै
म पनि रोबोट हुन पाए
कति सजिलै बन्थ्यो होला मेरो यो बिग्रेको जिन्दगि !!

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

( यो कविता नेपाली साहित्य समाज दक्षिण कोरियाले आयोजना गरेको साहित्यिक कार्यक्रममा मैले बाचन गरेको थिएँ । भिडियोको लिंक तल छ 
 https://www.youtube.com/watch?v=ye8pgoJkrO0 )