गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Monday, August 13, 2018

समुन्द्र



शान्त सँग बसेर हेरीरहेको छु
निलो समुन्द्रको हलचल
मेरो छातीभित्र कुदिरहने एक्लोपनाझैं
कुदिरहेको छ, उसको छातीमा एउटा पानिजहाज ।


सोध्न मन लाग्छ आफैलाई,
 कती वटा खोला जोडीएपछी बनेको हो
यो एक्लो समुन्द्र ?
कती वटा सम्बन्ध जोडीएपछी बनेको हुँ
म एक्लो मान्छे ?
साँच्चै बुझ्न गार्हो परीरहेछ  मलाई
सबैबाट छोडीए पछी बनीने हो कि
सबैसँग जोडीए पछी बनीने हो एक्लो ?

सोध्न मन लाग्छ समुन्द्रलाई,
कती वटा सेते हिमालको पसिना चुसेर
बन्यौ तिमी यती विशाल ?
कती वटा कन्दराको आशु निलेर
बन्यौ तिमी यती नुनिलो ?
बुझ्न गार्हो परीरहेछ मलाई
समुन्द्रमा पौडीएको भ्रममा
किन आँशु र पसिनामा पौडीरहेकाछन् मान्छे ?