गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Thursday, November 3, 2016

पाहुना

आमा,
तिमिले भन्ने गर्थ्यौ
पाहुना देउता सरह हुन्
तिनलाई बस्ने बास दिनुपर्छ
खानलाई गास दिनुपर्छ
ओढ्न कपास दिनुपर्छ ।


आमा,
पोहोर तिम्रो घाँटी थिचेका
परार हाम्रो आँठो मिचेका 
छिमेकी ठुल्दाइ हिजो हाम्रोमा आए
हाम्रा जेठा दाइले उनको भजन गाए
जेठो दाइले हामीलाई यो भने
हाम्रोमा आएपछि तिनी पाहुना भए रे
पाहुना देउता सरह हुन् भन्थ्यौ नि
अब त ठुल्दाइ  देउता भए रे ।


आमा,
 हाम्रो जेठो दाइलाई के भएको ?
ती पाहुनासँग न त आँठो मिचेको बारे बोल्यो
न त घाँटी थिचेको बारे बोल्यो
उसले त एउटै काम मात्र गर्यो
हामि भाइबैनी सबैलाई कोठाभित्र थुन्यो
बाहिर ढोकामा लम्पसार पर्यो
अनि छिमेकी पाहुनाको पाउ मोल्यो


आमा,
मलाई एउटा कुरा भन
के तिमीले जेठो दाइलाई यहि सिकाएकी हौ ?
सिकाएकी हौ भने
आजबाट तिमीलाई आमा मान्दैन
सिकाएकी हैनौ भने
तिम्रो घाँटी थिच्ने पाहुनालाई देउता भन्दैन ।

Wednesday, November 2, 2016

त्यो माओवादी र यो माओवदी

६ कक्षामा पढ्दै गर्दा माओवादी बारे केही थाहा पाउँदै थिएँ । मैले ६ कक्षा पढ्ने बेला हाम्रो विधालयमा माओवादीहरु आए । त्यही बेला हो मैले पहिलो पटक माओवादीहरु देखेको । प्रत्येक कक्षामा गएर जनवादी शिक्षाबारे भाषण गरे । हामिहरुले पढिरहेको चैं बुर्जुवा शिक्षा हो भने । मलाई सार्है गार्हो लाग्ने संस्कृत किताब  अबदेखी पढ्नुपर्दैन भने । यो किताब जलाउनुपर्छ भने । उनिहरुका कुरा सुनेपछी लाग्यो आहा.. कस्ता राम्रा मान्छे रहेछन् माओवादीहरु ।

उनिहरुको पछि लागेर संस्कृत किताब जलाउने प्रतिस्पर्धामा म पनि सामेल भएँ । संस्कृतको ठाउँमा नैतिक शिक्षा भन्ने किताब पढ्न थालियो ।
अहिले वेद गिता लगायत हिन्दु धर्मग्रन्थ अध्ययन गर्ने निकै ठूलो रुचि भएर पनि संस्कृत भाषाको ज्ञानको अभावको कारण नेपाली वा हिन्दिमा उल्था गरेका कता के नमिलेका नमिलेका किताब पढ्न पर्दा महशुस हुन्छ संस्कृत किताब जलाएर गल्ती गरिएछ । त्यो भन्दा धेरै नमज्जा त यो बेला लाग्छ संस्कृत भाषा त हाम्रै नेपाली भाषाको पनि जननी रहेछ भनेर थाहा पाउँदा । सबैभन्दा गल्ती महसुस त त्यो बेला हुन्छ जब  माओवादिका नेताले संस्कृतमा ट्विट गरेको देख्दा ।

समय बदलिँदै थियो । देश युद्दमा छ भन्ने कुरा अलिअली बुझ्न थाल्दै थिएँ । हाम्रो छिमेकी गाविस अर्खाबाङमा रोल्पाबाट धेरै माओवादिहरु आएर बसेकाछन्  भन्ने हल्लाहरु चलिरहन्थे गाउँमा । ती हल्ला हैन सत्य हुन् भन्ने महसुस गाउँको प्रहरि चौकिमा माओवादिले आगो लगाएको आफ्नै आँखाले देखेपछी थाहा भयो । यसपछी भने माओवादीहरु सँग डर लाग्न थाल्यो ।

एकदिन माओवादीहरु स्कुलमा आएर अब देखि "श्रीमान गम्भीर.." भन्ने राष्ट्रिय गान नगाउनु भन्ने उर्दि लगाए  । त्यो दिनपछी बिहान १० बजे लाइन लाग्दा "सरस्वती सुन्दर मुर्ती तिम्रो.." भन्ने सरस्वती बन्दना गाउन थाल्यौं हामी ।

एकदिन स्कुलबाट घर जानेबेला बाटोमा देखें ।  ठुला ठुला झोला भिरेका, बन्दुक बोकेका ५०-६० जना मान्छे बाटोमा बसेका रहेछन् । हाम्रो गाउँमा पनि यस्ता बन्दुक बोकेका झोला भिरेका मान्छे अलिअली आउन थालेका थिए । आमाले तिनी "माबादी" हुन्, तिनिसँग घरको केही कुरा नभनेस् है कान्छा तिनले सोधे भने पनि भनेर सिकाउनुभएको थियो । बन्दुक बोकेका मान्छे देखेपछी मैले मनमनै सोचें । कति धेरै माओवादी रैछन्, घरको कुरा सोधे भने मरे पनि केही भन्दिन । सरासर हिँडेको मलाई  बन्दुक बोकेको  कालोकालो मान्छेले ओइ यता आइज त भनी बोलायो । म डराइ डराइ गएँ ।
उसले सोध्यो - "राष्ट्रिय गान आउँछ ?"
मैले आउँछ भन्ने भावले टाउको हल्लाएँ ।
उसले गाएर सुना भन्यो ।
अनि म निकै चलाख बनेर यी माओवादी हुन्, यिनले श्रीमान गम्भीर नेपाली गाउँछ कि भनेर सोधेका होलान् । म त्यो हैन सरस्वती सुन्दर मुर्ती तिम्रो गाउँछु , यो गाए यिनी खुशी हुन्छन् भन्ने सोचेर स्वर मिलाएर सरस्वती सुन्दर मुर्ती तिम्रो ...भन्दै गाउँदै थिएँ । एक्कासी त्यो कालेले त चट्याम्म मेरो गालामा पड्कायो । मैले कुरो बुझेन यसले किन चट्कायो भनेर । आँखाको डिलमै आएको आँसु रोकेर उभिएको मलाई उसले आदेशको शैलिमा भन्यो, "अब देखि श्रीमान गम्भिर गाएस् फुच्चे ।"
यसरी चड्कन खाने म मात्र हैन अरु विद्यार्थी पनि रहेछन् । पछि थाहा पाएँ ती माओवादी हैन शाही सेना रैछन् । आफुले अनाहकमा पिटाइ खाएकोले मलाई शाही सेना भन्दा माओवादी मन पर्यो त्यो बेला ।

माओवादीले यस्तो गरे उस्तो गरे भन्ने एउटा न एउटा नयाँ कुरा हुन थाल्यो दिनदिनै गाउँमा । आज सिमलटारिमा रक्सिका घैंटा फुटाल्दिए रे । तास खेल्नेलाई त्यही तास पानीमा घोलेर ख्वाइदिए रे । लुटपाट गर्दै हिँड्ने फलानोलाई माओवादिले मारे रे । यस्ता कुरा सुन्दा मलाई माओवादीहरु धेरै राम्रा मान्छे रहेछन् जस्तो लाग्न थाल्यो । तर अहिले धेरै माओवादी कार्यकर्ता आफ्नो गुजारा चलाउन भट्टी पसल चलाउन बाध्य छन् । तिनिहरुलाई आफ्नो सुन्दर आदर्श र  आफ्नो नमिठो यथार्थबिचको दुरिले कति तनाब दिन्छहोला ?

बिस्तारै हाम्रो गाउँमा पनि गाविस अध्यक्ष भन्दा गाजस ( गाउँ जन सरकार ) प्रमुखको दबदवा बढ्न थाल्यो । गाउँ जनसरकार प्रमुखमा "दर्शन" भन्ने गएपछि रोल्पाको "बादल" भन्ने आयो । त्यो मान्छे पुरै फौजी टाइपको । अरु माओवादी हाम्रो घरमा आउँदा आमा दुख नमान्नुहोला, खाना त यतै खान पर्ने भयो भन्दै आउँथे । उ आयो भने चैं यति जनालाई खाना पकाउने, मीठो पकाउने टाइपले बोल्थ्यो ।  यो मान्छे देखेपछी र यसको ब्यबहारले आजित हुन थालेपछी मलाई  माओवादी बिस्तारै मन पर्न छोड्यो ।

यस्तैमा ठूलो नेता आउने भनेर, ( सायद टोप बहादुर रायमाझि हुनुपर्छ ) घरको एक जनाको हिसाबले हाम्रो गाउँबाट मान्छेहरु अर्घाखाँची जानुपर्ने उर्दि जारी गर्यो माओवादिले । हिँड्दै अर्घाखाँची पुग्न सायद ८-९ घण्टा लाग्छ हाम्रो गाउँबाट । हाम्रो घरबाट म जाने भएँ । म सँगै गाउँका धेरै १३-४० बर्षे हामी अर्घाखाँची हिँड्यौं बादलको कमान्डमा । जाँदाको दिन पुर्कोटमा बास बसाले । खाना खान र बास बस्न  ७-८ जनाको टोलि बनाएर तिमिहरु त्यो घर , उनिहरु त्यो घर जानू भन्दै घर देखाइदिए ।  माओवादी हुँ भनेपछि टन्न खान दिन्छन् होला हाम्रो गाउँमा झैं सोचेर ल हामी माओवादी हौं, खाना पकाउनुपर्यो हामिलाई भनेको त माओवादी भए खानै दिन्नौं पो भन्छन् घरबेटिले त ।
अनि हैन बुवा हामी त माओवादिले उर्दि जारी गरेकोले आएका हौं खाना दिनुस् न सार्है भोक लाग्यो  भनेर निन्याउरो मुख लगाएपछि चैं हो यसो भन न त भन्दै बस्न गुन्द्री दिए । भात खुवाउलान् भनेर सोचेको त ४ वटा कोदाको रोटि ८ जनाले भाग गरेर खाओ भन्दै पो दिन्छन् ।
त्यो रोटि भोकको बेला कता गयो गयो ।  सुत्न पनि बाहिर दलानमै लस्करै बिस्तारा लगाएर ८ जना सुत्यौं । यसो निदाउन लागेको त माथीबाट कसैले  च्यापेँ झै लाग्यो । को रहेछ भनी बिस्तारै हेरेको त कुकुर पो रहेछ । हामिहरुले ओढेको सिरकमाथी आएर सुतेको ।
उठेर धपायौं... धपाएको रिस रातभर भुकेर सुत्न नदिएर फेर्यो त्यसले ।

अर्को बिहानै लाइन लगाएर अर्घाखाँचीतिर लैजादैं थिए माओवादीहरुले । कन्की देउराली नेरफेर पुग्नै लाग्दा बिपरित दिशाबाट २ जना बाइकमा आएका मान्छेले यी जनता लिएर अब अघि नजानु, अगाडि प्रहरी छ जोखिम हुन्छ भनेर बादललाई भनेको सुन्यौ हामिहरुले । तर बादलले जसरी पनि अघि जाने र ठुला नेता आउने कार्यक्रम सफल पार्ने जिद्दी गर्यो । उसको जिद्दीको प्रतिबाद गरे वडा प्रमुख चट्याङले नजाउँ भनेर  । २ जनाबिच सवाल जवाफ भयो । अन्त्यमा बादल चट्याङ भन्दा सिनियर पोष्टको भएकोले उसकै भनाई पास भयो ।
यी सबै देखिरहेका  हामीले अब अघि जे पनि हुनसक्छ । त्यसैले लाइनमा सबैभन्दा लास्टमा लागेर हिँडौं । पुलिस आए पनि सवैभन्दा छिटो भाग्न पाइन्छ भनी जुक्ती लगायौं । नभन्दै हामि कन्की देउराली नीरै पुग्दा त अघिका मान्छे पुलिसले गोलि चलायो भन्दै भाग्न थाले । अनि हामीपनि भाग्न थाल्यौं । भाग्दाभाग्दै बाटोमा देख्यौं बादल त अर्को मान्छेसँग मोटरसाइकलमा भागिराछ । एकछिनपछि आकसमा हेलिकप्टर घुम्न थाल्यो । आजै मरिने रहेछ झैं लाग्न थाल्यो । यसरी अनेक हन्डर खाँदै हामी घर आयौं । घर आउँदा आमा बेहोस भएर उठ्नुभएको भन्ने थाहा पाएँ । यो घटनाले माओवादीप्रती घृणा लाग्न थाल्यो मलाई ।

स्कुल छुट्टि भएपछि छल्दी खोलामा गएर हामी फुच्चा फुच्चिले उकालो बाटोमा चिसो बालुवा बोकिबोकी सम्पन्न गरेको मेरो गाउँको खानेपानी योजनामा भ्रष्टाचार गरेको भनेर माओवादिहरुले त्यसका हालिमुहालिकर्ताहरुलाई सजायँ दियो पैसा तिराएर कसैलाई थप्पड हानेर । त्यसमा कोहि चैं निर्दोष पनि सजायँ भोग्नेमा परे । सानै भएपनी भ्रष्टाचार गर्नेहरुलाई कारबाही गरेर ठिक गर्यो माओवादिले भन्ने छाप पर्यो मेरो मनमा । अनि फेरि माओवादी केही मन पर्न थाल्यो। तर त्यो पैसा माओवादिले गाउँलेलाई दिने भनी नदिएर आफैले खाएको रहस्य थाहा भयो पछि । अनि भन्न मन लाग्यो खाओबादी हुन् कि माओवादी ?

यो भ्रष्टाचार कान्डले हाम्रो गाउँ झन भाँडियो । को कति धनी, कसको छोरो आर्मिमा, कसको छोरो साउदिमा , को सँग कति चन्दा लिने,  कसले नाच्न जानेको छ, कसले गाउन जानेको छ भनी सबै गाउँलेले  पोल लगाउन थाले माओवादिसँग एक-अर्काको बारे ।

स्कुलमा र गाउँमा हुने कार्यक्रमहरुमा मैले गित गाएर पुरस्कार जितेर गित गाउनेको पहिचान बनाएको थिएँ । मैले गित गाउन जानेको र मलाई माओवादिको साँस्कृतिक टोलिमा समेट्नुपर्ने चुक्ली लाइदेछन् मेरो छिमेकी दाइ पर्नेले बादलसँग । म भर्खर १० मा पढ्दै थिएँ । अब मलाई साँस्कृतिक टोलिमा लाने रे माओवादीहरुले भन्ने हल्ला सुनेपछी मेरो डरले सिमा नाघ्यो । मलाई पढ्न छोडेर माओवादिका गित गाउँदै मृत्यु सँग खेल्दै हिँड्ने कुरा सम्झँदा पनि चक्कर आउला झैं हुन थाल्यो ।

गाउँमै बसे स्योर माओबादीले लैजान्छन् बरु सदरमुकाम जान्छु भन्ने सोच आउन थाल्यो मनमा । आमाले पनि मलाई अब घर नराख्ने भन्न थाल्नुभो ।
अनि एकदिन राती खाना खाएपछी मैले बालाई भनें..
"बा म गाउँमा बस्दिन.. पढाउनुहुन्छ भने तम्घास गएर पढ्छु नत्र भने इन्डिया जान्छु ।"

मेरो कुरा सुनेर बा केही बोल्नुभएन ।

क्रमश...