गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Sunday, March 30, 2014

पानी खानी पहिलो

२ कक्षा सम्म आफ्नै गाउँको स्कुलमा पढियो | त्यो भन्दा माथि त भए पो पढ्नु त्यो बेला | सानो उमेर साथीभाईको दायरा पनि सानै | त्यसमा पनि आफ्नै टोल-छिमेकका केटाहरु कोहि सिमलटारी पढ्ने कोहि दघाँस पढ्ने | अनि केटाहरुले उनीहरुको स्कुलका गफ सुनाउने | उनीहरुका गफ सुनेरै मलाई पनी कहिले दाघाँसको स्कुलमा पढ्न पाइएला भन्ने हुन्थ्यो | २ कक्षा पास भएपछी त्यो अवसर जुर्यो | र त्यो अवसर सँगै शुरु भएकारहेछन् जिन्दगीका सबैभन्दा धेरै मिठा र सम्झना योग्य दिनहरु.. !!

२ कक्षा पास भइयो | यता जनसेवा प्रा.वि लाई बाईबाई गरियो | उता छत्र प्रा.वि ले स्वागत गर्यो | भनेपछि अब चैं ठुलै मान्छे बनियो | यो मैले भनेको हैन त्यतिबेलाको मेरो मनले भनेको | जनसेवामा २ कक्षासम्म पढाई हुने विद्यार्थी पनि थोरै सरहरू पनि थोरै | तर यहाँ कति हुन् के पढ्ने केटाकेटी र सर मिसहरु पनी | भर्ना भएर पढ्न गएको पहिलो दिन मान्छे हेरेरै दङ्ग परियो | 
हाम्रो गाउँमा अधिकांश पौड्यालहरुकै घर थिए | २-४ घर कुँवर हरुका | भनेपछि अधिकांश मेरा साथीहरु  पनी दाईभाई र भतिजाहरु हुने नै भए | म बाहेक अरु धेरैजसोले पहिल्यै नै दघाँस पढ्न थालेका थिए | त्यसैले ति सबै मेरा गुरु भए | को सँग बोल्ने, को सँग निउ खोज्ने, झगडा गर्ने  स्कुल जाँदा र फर्किंदा बाटोमा कस्ता नियम पालन गर्ने लगायत काँक्रा आरु कसरि चोर्ने सबै सिकाउने उनीहरु नै | तर यी गुरुहरुका नि गुरु थिए पदम दाई | गोबिन्दे, रने, कृष्णे, उपेन्द्रो, पिताम्बर, खर्रेको साहिलो( मधु) लगायत अन्य हामी सबै उनका चेला | उनले नियम बनाउने हामी पालन गर्ने | पदम दाईको नियममध्येकै एउटा महान नियम थियो.. "पानी खानी पहिलो" |

घरबाट स्कुल हिँडेपछी बाटोमा पानी खाने ठाउँ साउँखोला, जुक्खोली र बिटालुको धारो थिए | साउँखोला घरबाट नजिकै हुनाले खासै तिर्खा नलाग्ने हुँदा त्यहाँ कमै मात्रामा पानी खाइन्थ्यो | जुक्खोलीमा पानी खाँदा नाकमा लित(एक प्रकारको जुका) पस्छ भन्ने डरले झन् पानी नै खानेथिएनौं | त्यसैले हाम्रो पानी खाने मुख्य जक्सन स्कुल भन्दा केहि तलको बिटालुको धारो थियो | घरबाट स्कुल जाँदा त्यो धारामा सबैभन्दा पहिले कसले पानी खाने भनेर पदम दाईले बनाएको नियम नै "पानी खानी पहिलो" वाला नियम थियो | यो नियम स्कुलबाट घर फर्कंदा भने लागु हुने थिएन |

गुरुहरुका नि गुरु महागुरु श्री श्री श्री पदम दाईको नियम अनुसार त्यो धारोमा सबै भन्दा पहिले पानी खान चाहनेले बिहान सबैभन्दा छिटो हाम्रो ग्याङका सबैले सुन्ने गरी पानी खानी पहिलो भन्दै चिच्याउनुपर्थ्यो | पहिलो पछी चिच्याउनेले दोस्रो, दोस्रो पछी चिच्याउनेले तेस्रो पटकमा पानी खाने सौभाग्य प्राप्त गर्थ्यो | तर यसमा नि एउटा छुट्टै उप-नियम थियो | त्यो के भन्दा जुनसुकैले बिहान सबैभन्दा छिटो पानी खानी पहिलो भनेर चिच्याए पनि उसले पहिलो पटकमै पानी खान पाउने थिएन | उसले निसर्त पदम दाइलाई पहिलो चोटी पानी खान छोडीदिनुपर्थ्यो | र उसले दोस्रोमा खाने चान्स पाउँथ्यो | तर अलि ल्याङल्याङ गर्यो भने त्यो बिचराले सबैभन्दा अन्तिममा पानी खाने अवसर पाउँथ्यो | 

पानी खानी पहिलो.ओ..ओ...!! सुतीरहेको मेरो कानमा टिनिनि घन्टी बजेझैं गरि आवाज ठोकियो | अनि हाई काढ्दै आँखा मिच्दै मैले शरीर तन्कायँ | अनि खाटको छेउको एउटा प्वालबाट बाहिर हेरें | ल बाहिर त अँध्यारो पो छ त | कुन मुर्दार चिच्चायो यो रातीराती भन्दै म सुतें | पछी थाहा भयो त्यो मुर्दार रने रहेछ | बिहान ५ नबज्दै चिच्याएको रहेछ | 
पदम दाईको यो नियममा नि धेरै भनसुन र लेनदेनले काम गर्थ्यो | पदम दाईको चाप्लुसी गर्ने र बेलाबेलामा यसो मिठाईको जोहो गर्दिनेले पानी खानी पहिलो नभने पनि पहिलो चोटीमै पानी खान पाउँथ्यो | यसको बिरोधमा बोल्ने कसैको साहस हुने थिएन | बेकारमा आफ्नै शरीरको मर्मत गर्ने रहर कसलाई होस् | हुन त त्यो धारामा पहिलो चोटीमै पानी खाँदैमा के हुन्छ र भन्ने लाग्ला | तर धेरै हुन्थ्यो | त्यो धारामा पहिलो चोटीमै पानी खानेको शान अहिलेका प्रधानमन्त्रिसरहको नै हुन्थ्यो | अझ बढी नै पो हुन्थ्यो क्या र...| 
पानी खाने पहिलो हुन पाए त क्या शान हुने थियो | मेरो मनमा नि घरिघरि यस्तै तर्कना आइरहन्थ्यो | त्यसैले म पनि पदम दाईलाई रिझाउने,फकाउने कोसिशमा राम्रै लागेको थिएँ | आमासँग रोईरोई मागेको पैसाले किनेको मिठाई पदम दाईले र मैले बराबर भाग लगाएर खाइयो धेरै महिना सम्म | पदम दाईलाई लडेर जित्न यो स्कुलमा कसैले सक्दैन भनेर फर्माइस् त कती गरियो कति | निरन्तरको मेरो प्रयास खेर गएन | एकदिन करुणामयी पदम दाईको मन पग्लियो र मैले "पानी खानी पहिलो" हुने मौका पाएँ | आहा त्यो दिन खुशी के हो ?शान के हो ? भनेर अनुभूत गरेको मेरो पहिलो दिन |

सेवा गरे मेवा पाईन्छ कि पाइदैन त्यो त मलाई थाहा भएन | तर सेवा (चाप्लुसी नै सही) गरे "पानी खानी पहिलो" बन्न चैं अवश्य पाइन्छ | यो दिव्यज्ञान दिने प्यारो पदम दाईको जय होस् | तर एउटा कुरा सधै मनमा ओहोर-दोहोर गरिरहन्छ.. .. अहिले पानी पिउने भएको म पहिलेको पानी खाने बाल्यकालमा पुग्न पाए.....!!


Thursday, March 20, 2014

तिमी र म

तिमी फुलेको गुराँस म फुलेको बाँस
तुलना गर्नु नै थियो मेरो दुस्साहस !!

तिमी फुलेमा सुन्दरता झल्कन्छ
म त फुल्दैमा पनि मृत्यु सल्कन्छ
हेर कती निर्दयी छ मेरो इतिहास
तिमी फुलेको गुराँस म फुलेको बाँस !!

तिमी शिरमा फुल्ने, भिरमा फुल्ने
तर म भने सधै दुख-पिरमा फुल्ने
त्यसैले मेरो शिर झुक्छ बार्हैमास
तिमी फुलेको गुराँस म फुलेको बाँस !!

म बेसीमा फुलें तिमी लेकमा फुल्यौ
उचाईमा फुल्यौ र त मलाई भुल्यौ
घमण्ड अङ्गाल्यौ गुमायौ विश्वास
तिमी फुलेको गुराँस म फुलेको बाँस !!