गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Sunday, July 5, 2015

भ्रष्टाचार

जब ओरालो बग्ने कर्णाली भन्दा
छिटो उकालो बग्छन् आकांक्षाहरु
तब गर्ल्याम्म ढल्छन
इमानका सगरमाथाहरु
अनी बिर्सन्छन्
म को हुँ भनि मान्छेहरु
सायद यसैले नै
मौलाउँछन् भ्रष्टाचारहरु 

जब सफलता अनी सफलता
मात्र पढाउँछन् पाठशालाहरु
तब आत्महत्या गर्छन्
असल हुने सपनाहरु
र बन्द हुन्छन्
राम्रो सोचका बाटोहरु
अनी बिर्सन्छन् 
को हुँ भनि मान्छेहरु
सायद यसैले नै
मौलाउँछन् भ्रष्टाचारहरु

जब पसिना बेच्नेहरु भन्दा नि
ठुला हुन्छन् चाकडी बेचुवाहरु
तब मक्किन थाल्छन्
समाजका धुरीखाँबोहरु
र चिप्लिन थाल्छन्
राष्ट्रप्रेमका पैतालाहरु
अनी बिर्सन्छन्
म को हुँ भनि मान्छेहरु
सायद यसैले नै
मौलाउँछन् भ्रष्टाचारहरु

जब ध्यानमग्न बुद्द भन्दा बढी
मौनमौन बस्छन् जनताहरु
तब लामो हात पार्छन्
नेता र प्रशासकहरु
र रमिते हुन्छन्
हाम्रै सरकारहरु
अनी सोच्न थाल्छन्
म को हुँ भनि मान्छेहरु
अनी प्रश्नको घेरामा
पर्दछन् भ्रष्टाचारहरु

खबरदार..भ्रष्टाचारी
अब जागेका छन्
नेपाली मनहरु
बस्न थालेकाछन्
भोका अनसनहरु 
कठघरामा उभ्याउनेछन्
तिम्रा भ्रष्टाचारहरु