गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Sunday, February 2, 2014

पौड्याल वंश र संस्कृति

पौड्याल वंशको बारेमा आज सम्म कती खोज -अनुसन्धान ,विवाद ,तर्कहरु र  भनाभन भए होलान् ?  र यी सबको परिणाम स्वरूप कति कृति , किम्बदंती र भनाईहरु समाजले प्राप्त गरे होला ? अनि प्राप्त ति सबै कृति, किम्बदंती र भनाईहरु सँग हामी कती परिचित छौँ होला ? हामी यी सब कुराको ज्ञाता हैनौं | तर  हामी धेरै  पौड्यालहरुलाई यि सम्पूर्ण कुराको बारेमा केहि न केहि अध्ययन गर्ने वा सुन्ने अवसर भने पक्कै मिलेको छ | र म पनि आफुले सुनेको, भोगेको  र केहि मात्रामा अध्ययन गरेको आधारमा केहि कुरा लेख्ने कोसिस गरेको छु | यहाँ ब्यक्त तथ्यहरु विभिन्न स्रोतहरुबाट लिएको छु | तर धारणाहरु भने मेरा व्यक्तिगत हुन् |

१. पौड्याल थर र आत्रेय गोत्र  बारे :-
      प्राचिन महर्षी आत्रेय ( कसैले अत्रि पनि भन्छन् ) का सन्तति भएकोले हामी पौड्यालहरुको गोत्र आत्रेय भएको मानिन्छ | तर आत्रेय गोत्री हामीहरुको थर पौड्याल कसरि रह्यो भन्ने कुरा भने रोचक छ | विभिन्न स्रोतहरुमा उल्लेख भए अनुसार बिक्रमको १२ औं शताब्दीमा पौडी गडवाल  मा बस्ने विद्वान वत्सराज भट्टलाई तत्कालिन डोटी राज्यका राजा राधा माधव सेनले आफुले लगाएको वाजपेय यज्ञ सम्पन्न गर्न प्रमुख आचार्यकोको भुमिका दिए | र उक्त यज्ञ सम्पन्न गर्ने क्रममा राजामा वैराग्य उत्पन्न भएपछी उनि सम्पुर्ण राजकाज र आफ्नी एक्ली छोरि समेतलाई उनै वत्सराजको जिम्मा लगाई काशी गए |  पौडी गडवालबाट आएका  वत्सराजका सन्ततिहरु लाई बिस्तारै पौडी-आलयका सन्तान  भन्न थालियो | र पछी त्यो पौडी-आलय पनि अपभ्रम्स भइ पौड्याल ( पौडेल) हुन गयो | 
       तर अचेल कतिपय मानिसमा पौड्याल र पौडेल फरक थर हो भन्ने भ्रम पनि छ | अझ अंग्रेजीमा लेख्दा त झन् Paudyal, Poudel, Paudel Poudyal गरि विभिन्न तरिकाले लेख्दा मान्छेमा झनै भ्रम परेको छ | थर लेखाइमा एकरुपता नल्याएमा पछिल्लो पुस्तामा झनै अन्यौलता छाउने निश्चित छ |
  अनि हामी पौड्यालहरु पनी कालो र सेतो गरि दुई भागमा विभाजित छौं भनिन्छ | कतिपयले यी दुइथरी पौड्यालको गोत्र पनि फरक हो भन्छन् | र कसैले पौड्याल केवल कालो पौड्याल मात्र हुन् सेता पौड्याल भनेका सिग्देल हुन् पनि भन्छन् | भलै यसमा विवाद छ |  तर गुल्मिमा भने हामी कालो पौड्यालहरुको बाहुल्यता छ |

२. पौड्याल र जात बारे :-
      सामान्यतया पौड्याल भन्ने बित्तिकै उपाध्याय बाहुन हो भन्ने बुझाई छ | तर पौड्याल हरु जैसी र क्षेत्रि पनि धेरै छन् |अझ नेपालका कतिपय ठाउँमा दलित समुदायले पनि पौड्याल लेख्छन् भनिन्छ | तर यहाँ भित्र नि कसरी जात निर्धारण गर्ने भनेर निकै साँघुरो र सामन्ती शैली अपनाइएको जस्तो लाग्छ मलाई | जस्तो कुनै पुरुष उपाध्याय बाहुन पौड्यालले जति पटक बिहे गरेनी उ उपाध्याय बाहुन नै रहने तर महिला उपाध्याय बाहुन पौड्यालले दोस्रो बिहे गरे उ जैसी हुनुपर्ने | अनि बाहुन पुरुषले छेत्री बिहे गरे उ बाहुन हुने तर उसको छोरा छेत्री हुने | यो तरिका वास्तव मै सामन्ती छ | अझ कतिपय बाहुन पौड्याल पुरुषले त आफु भन्दा कथित तल्लो जातको महिला बिहे गर्ने तर उसले छोएको नखाने खाले पाखण्डीपन नि देखिन्छ | यस्ता कुरा हाम्रो पुस्ताले मान्न तयार छैन | जुन समाज परिवर्तनको लागि सहयोगी नै हुनेछ | जातीप्रथा भित्र  विसंगति धेरै भएकोले यहाँ थोरै मात्र चर्चा गरें |

३. थर गोत्र र बिहे बारे :-
     एउटै थर र एउटै गोत्रमा बिहे गर्नु हुन्न र मिल्दैन भन्ने चलन छ | र कतिपय सवाल वैज्ञानिक दृष्टिकोणले पनि सहि छन् | तर पुरुषप्रधान हाम्रो समाजमा आफ्नो बाउको जे गोत्र र थर हो त्यो नै उसका सन्तानको हुने गरेको छ | अनि अर्को गोत्र र थरकी महिला जब बिहे गरेर आफ्नो श्रीमानकोमा आउँछिन उनले आफ्नो श्रीमानको थर र गोत्र धारण गर्नुपर्ने नियम छ | यो आफैमा कत्तिको न्यायिक छ ? यसमा बहस आवश्यक छ | र कतिपय महिलाले आफ्नै माइतीको थर नै लेखेर सांकेतिक असहमति जनाएका छन् | र बिहेको सवालमा अहिले पहिलेको जस्तो मागी बिबाह को क्रम घट्दो छ | र प्रेम बिबाह दिनानुदिन बढ्दै छ | र सबैलाई थाहा छ प्रेम अन्धो छ | प्रेम गर्नेहरु गोत्र हेरेर प्रेम गर्दैनन् | तर जब बिहेको बेला आउँछ तब तनाब शुरु हुन्छ | र कतिले बिहे गरेरै छाड्छन् | कति भने डिप्रेसन र आत्महत्याको बाटो रोज्छन् | तसर्थ एउटै गोत्रसँग को बिबाह लाई पूर्ण बन्देज लगाउनु भन्दा कति पुस्ताको अन्तर भएमा बिहे गर्न मिल्ने भनेर एउटा मापदण्ड बनाउनु उपयुक्त होला | र हामी आत्रेय गोत्रधारीले पनि यसमा सोच्न आवश्यक भएको छ | यो कुरा आफैमा नराम्रो हो जस्तो मलाई लाग्दैन | गल्ति लेखेको  भए माफी चाहन्छु |

४.कुलपुजा र कुलदेवता बारे :-
   गुल्मीमा रहेका हामी अधिकांस कालो पौड्यालहरुले हरेक ३-३ बर्षमा कुलपुजा गर्छौं | र सायद ६-६ महिनामा गौरी पुजा गर्छौं | कुलपुजामा  (देउली) बलिको रुपमा काली पाठी र एक रंगका बोकाहरू चढाउछौं भने गौरी पुजामा खिर, पिठो ले काम चलाउछौं  | र अहिले गुल्मीमा छरिएर रहेका हाम्रा पुर्खाहरु बाग्लुङ जिल्लाको झिम्पा भन्ने ठाउँ बाट आएका भन्ने भनाइ छ हाम्रा अग्रजहरुको | देउली (देवाली) पुजाको दिन चंगर र घण्ट हल्लाउंदै कुल उत्रिएका (धामीहरु) कालिका, बराह मस्ट र गौरी लगायत अन्य देवताको पुकार गाउँदै काम्ने गर्दछन् | के साँच्चिकै कमाएर काम्छन् त ? यसको जवाफ देउतालाई छोडौं | विश्वास नगर्नेहरुले  नि यसलाई संस्कृतिको रुपमा संरक्षण गर्न सहयोग गर्नैपर्छ | किनकि यो हाम्रो चिनारी हो, पहिचान हो | हाम्रो क्षेत्र मा गरिने कुलपुजा र अन्य क्षेत्रमा गरिने कुलपुजामा भने धेरै असमानता छन् | कतै-कतैका पौड्यालहरुले बलि बिनै देवाली गर्छन |

५.पौड्याल र पद प्रतिष्ठा बारे :-
    अहिलेको नेपालको प्रधानमन्त्रि सरहको पद तथा तत्कालिन( वि.सं. १८९४ -१८९५ ) मुख्तियार भएका रंगनाथ पौड्याल नै हाम्रो वंशबाट सबैभन्दा उच्च पदमा पुगेका व्यक्ति हुन् | त्यसै गरि प्रतिष्ठाको हिसाबले कवि शिरोमणि लेखनाथ पौड्याल हाम्रो वंशबाट कहलिने एउटा होनहार नाम हो | र अन्य कति अज्ञात हाम्रा पुर्खाहरु आफ्नो कर्मले उच्च हुँदाहुँदै पनि इतिहासको पानामा नसमेटिएका हुन सक्छन् | आशा गरौँ कुनै दिन समेटिनेछन् |

६. अन्त्यमा :-
     पौड्याल वंशावलीको बारेमा र पौड्यालहरुको इतिहास ,संस्कारको बारेमा एकदमै थोरै जानकारी भएको मैले लेखेका कतिपय धारणा र तथ्यहरु गलत र कसैको आस्थामा चोट पुग्ने खालको भएमा माफी चाहन्छु |
                                     धन्यवाद ||