गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Friday, December 25, 2015

कविता - राता फूलहरु

ए राता फूलहरु हो,
तिमिहरु फुल्न बन्द गर
मेरो खुशीको लागि झुन्डिएर मर
भनेको मान,
तिमीहरु आफ्नो वंश नाश गर
आइन्दा मेरो नजरमा पर्दै नपर
के खोट देख्यौ र फुलेनौ मेरि आमाको सिउँदोमा ?
यदि फुल्ने नै हौ भने...
कहिलेकाँही मेरि आमाको सिउँदोमा पनि फुल्ने गर ।

ए देउताहरु हो,
तिमीहरु बसाई सरेर जाउ
अब कहिल्यै फर्केर नआउ
भनेको मान,
स्वर्गमै आफ्नो मन्दिर बनाउ
स्वर्गमै आफ्नो घरबार बसाउ
हैन यतै बस्ने मन छ भने
एउटा सर्त पूरा गर,
मेरि आमाले कुल्चिदा मन्दिर अपवित्र भयो भन्ने
तिम्रो भक्तलाई
मेरै आमाको पाउ समातेर माफी माग्न लगाउ । 

ए लोग्नेमान्छे हो,
किन यति घमण्डी बन्छौ ?
किन यति पाखण्डी बन्छौ ?
हिजो आफ्नै आमालाई ज्युँदै जलायौ
आज बोक्सी भनेर दिशा कोचायौ
किन यति क्रूर बन्छौ ?
नारी बिना त तिमी फगत सुन्य हौ  महाशय
तर पनि किन आफुलाई मै हुँ भन्छौ ?