बारीको कबिलीको लहराझैं झाँगिएका
मेरा ठुला ठुला सपनाबाट, म ब्युँझन चाहन्छु
जनै पुन्नुको डोरोले जेलिएको हातझैं
जेलिएका असिमीत चाहनाबाट, म उम्कन चाहन्छु
संसारै बुझेको भ्रम झिक्न चाहन्छु
साँच्चै, म केही सिक्न चाहन्छु !
त्यसैले, मलाई भन्देउ गाउँले बा-आमा....
भुसाले भरिएको सुल्फाको ओठमा
मार्चिसले आगो लगाउँदा,
उडेको धुँवासँगै ठुला-ठुला सपना उडाउन कसले सिकायो ?
बेसीको खेतमा १० धोंक्रो बरकिम्लो बढी राख्दा
१० पाथी धान धेरै फलेकैले
ओठमा यति जातिबिती मुस्कान फलाउन कसले सिकायो ?
चैते खडेरीको कुन्टोझैं सुकेको
मेरो हिम्मतलाई, म आशाको पानीले भिजाउन चाहन्छु
दशैंमा राखेको जँराझैं प्याँलिएको
यो जिन्दगीलाई, म पास्सेको सागझैं बनाउन चाहन्छु
ब्रमाण्डै बुझेको भ्रम झिक्न चाहन्छु
साँच्चै, म केहि सिक्न चाहन्छु !
त्यसैले मलाई भन्देउ गाउँले बा-आमा
मनको भारी बिसाउन म आउने कुरा जानेर
तिमीहरुलाई चौपारी बन्न कसले सिकायो ?
जिन्दगी यात्रा हो भन्ने त थाहा थियो
तर यात्रु नआउँदै यो बाटो खन्न कसले सिकायो ?
{ यो कवितामा बिशेष गरी गुल्मी, अर्घाखाँची र पाल्पामा प्रयोग हुने स्थानीय झर्रा शब्दहरुको प्रयोग गरिएको छ ! ति शब्दको अर्थ यसप्रकार छ । }
१. कबिली - फर्सी
२.जनै पुन्यु - जनै पुर्णिमा
३. डोरो - रक्षाबन्धन
४. भुसा - चुरोटको भित्र हुने सुर्ती जस्तै गाउँघरे सुर्ती
५. सुल्फा - भुसा भरेर धुँवा खान मिल्ने गरी बनाएको माटोको भाँडो
६. धोंक्रो - बोरा
७. जातिबिती - धेरै
८. कुन्टो- कुवा
९. जँरा -जमरा
१०. बरकिम्लो - बाख्राको बड्कौंलो
११. पास्सेको साग - रायोको साग
१२. चौपारी - चौतारी
१३. मार्चिस - सलाई
Saturday, September 9, 2017
Monday, August 21, 2017
साथीको आत्महत्या
हाँसो खोज्न आएथिस् साथी
किन आज पासो रोजिस् ?
जिन्दगी लामो यात्रा हो भन्थिस्
किन बिचमै हिँड्न छोड्दिस् ?
बिहानै घिरघिर गर्ने मेसिनको आवाजले
चरिको चिरबिर सम्झाएर हो कि
तेरो मनको खाटा बसेको घाउ
कोही कसैले बल्झाएर हो कि
संसार जित्न हिँडेको मान्छे
किन आज आफैसँग हारिस् ?
देह त सबैको मर्ने हो एकदिन
तैंले त आफ्नो आत्म नै मारिस् ।
प्रदेशमा आत्महत्या गर्नु पहिले
तैंले सम्झनुपर्थ्यो आमाको अनुहार
जसले दिएकी थिइन् तँलाई जिन्दगी उपहार
सम्झनुपर्थो बाको दुखको इतिहास
जसले दिन्थ्यो तँलाई बाँच्ने साहस
खैर.........
अरु कसैलाई नसम्झे पनी
तैंले पहिलेको तँलाई त सम्झनैपर्थ्यो
जसले जिन्दगी मर्न हैन गर्न हो भन्नेगर्थ्यो ।
साथी,
आत्मको हत्या गरेको भए नि तेरो आत्मा जागिरहोस्
मैले यस्तो गर्नु हुन्थेन भनी सयौं जन्म पछुतो लागिरहोस् ।
Click here to Reply or Forward
|
Sunday, April 9, 2017
सिरिया- प्रयोगशाला

बसरको सरकारको तमसुकमा ल्याप्चे लगाउन
कुन रसायन मिसिएको आँशु चाहिएको छ ?
बताउ बसर .. बताउ पुटिन
हैन भने किन गरिरहेछौ
मान्छेका बचेरामाथी रासयानिक आक्रमण ?
किन संगालिरहेछौ बाल्टीन भरि
बचेराको जिवनकै अन्तिम आँशु ?
बसरको सरकार फेर्न र उडाउन
कुन गन्ध मिसिएको हावा चाहिएको छ ?
बताउ ओबामा... बताउ ट्रंप
हैन भने किन गरिरहेछौ मिसाइल आक्रमण ?
किन सासै फेर्न दिएका छैनौ सिरियालीलाई ?
किन संगालिरहेछौ ग्यालेन भरी
उनैको जीवनकै अन्तिम प्राणवायु ?
अति भयो...
बन्द गर तर्क, बन्द गर क्रोध
बन्द गर समर्थन, बन्द गर बिरोध
बन्द गर दिमाग, बन्द गर विजय
खुल्ला गर मानवता, खुल्ला गर हृदय..!!
Saturday, February 18, 2017
रोबोट
'सजिन सानब' भन्ने एउटा कारखाना छ
त्यहाँ काम गर्ने एउटा अजिव मानव छ !
काम गर्दागर्दै उ हरेक घण्टामा अनेक सोच्छ
उ आफुलाई कामदार भन्दा बढी कवी सोच्छ
र मनको पानामा लेखिरहन्छ
आफ्नो जिन्दगि जस्तै
के नमिले के नमिले जस्तो लाग्ने
छन्द नमिलेका कविताहरु !
उसले भर्खरै मनमा लेखेर
मनमै च्यात्यो एउटा उ जस्तै 'अभागी' कविता
त्यो च्यातिएको कविता यस्तो थियो.....
" यो सम्झना छैन मलाई
कहाँ आइपुगें म, कहाँ जान हिँडेथें
हातमा छ कात्रो खै किन किनेथें
तर सधै सम्झना छ मलाई
कात्रो उधारो दिने साउजिको अनुहार
कमाउन सकेछु भने उनलाई कात्रोको पैसा दिनेथें !"
अहो ! आज त उ आफुलाई गायक लाउँदैछ
मेसिनको कर्कस जित्ने गरि गाउँदैछ
नारायण गोपालको उ जस्तै वैरागी गित
यो सम्झने मन छ, म बिर्सुं कसोरी.....!
गाइरहेको उसलाई गाली गर्दै कोहि करायो
रोबोट बिग्रिराछ भन्दै रोबोट बनाउन अर्हायो
तर उसले रोबोट नबनाई
टाउको छाम्यो र आफ्नै गाला मुसार्यो
एक तमासले आफैलाई हेर्यो र आफैमा हरायो
सायद उसले सोच्दैहोला
रोबोट सँग काम गर्दागर्दै
म पनि रोबोट हुन पाए
कति सजिलै बन्थ्यो होला मेरो यो बिग्रेको जिन्दगि !!
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
( यो कविता नेपाली साहित्य समाज दक्षिण कोरियाले आयोजना गरेको साहित्यिक कार्यक्रममा मैले बाचन गरेको थिएँ । भिडियोको लिंक तल छ ।
https://www.youtube.com/watch?v=ye8pgoJkrO0 )
त्यहाँ काम गर्ने एउटा अजिव मानव छ !
काम गर्दागर्दै उ हरेक घण्टामा अनेक सोच्छ
उ आफुलाई कामदार भन्दा बढी कवी सोच्छ
र मनको पानामा लेखिरहन्छ
आफ्नो जिन्दगि जस्तै
के नमिले के नमिले जस्तो लाग्ने
छन्द नमिलेका कविताहरु !
उसले भर्खरै मनमा लेखेर
मनमै च्यात्यो एउटा उ जस्तै 'अभागी' कविता
त्यो च्यातिएको कविता यस्तो थियो.....
" यो सम्झना छैन मलाई
कहाँ आइपुगें म, कहाँ जान हिँडेथें
हातमा छ कात्रो खै किन किनेथें
तर सधै सम्झना छ मलाई
कात्रो उधारो दिने साउजिको अनुहार
कमाउन सकेछु भने उनलाई कात्रोको पैसा दिनेथें !"
अहो ! आज त उ आफुलाई गायक लाउँदैछ
मेसिनको कर्कस जित्ने गरि गाउँदैछ
नारायण गोपालको उ जस्तै वैरागी गित
यो सम्झने मन छ, म बिर्सुं कसोरी.....!
गाइरहेको उसलाई गाली गर्दै कोहि करायो
रोबोट बिग्रिराछ भन्दै रोबोट बनाउन अर्हायो
तर उसले रोबोट नबनाई
टाउको छाम्यो र आफ्नै गाला मुसार्यो
एक तमासले आफैलाई हेर्यो र आफैमा हरायो
सायद उसले सोच्दैहोला
रोबोट सँग काम गर्दागर्दै
म पनि रोबोट हुन पाए
कति सजिलै बन्थ्यो होला मेरो यो बिग्रेको जिन्दगि !!
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
( यो कविता नेपाली साहित्य समाज दक्षिण कोरियाले आयोजना गरेको साहित्यिक कार्यक्रममा मैले बाचन गरेको थिएँ । भिडियोको लिंक तल छ ।
https://www.youtube.com/watch?v=ye8pgoJkrO0 )
Friday, February 17, 2017
बिदा
हरेक सोमबार
मैले पाँच सेकेन्ड नलगाई गन्छु
अब पाँच दिनपछि बिदा हुन्छ
अनि सोच्छु
पाँच दिनपछि फेरी एकचोटी
म गधा बाट मान्छे बन्छु
Subscribe to:
Posts (Atom)