गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Saturday, January 2, 2016

बा


बा...
साउँखोलाको पानीमा
हजुरले मेरो लागि बगाएको पसिना देखेको छु ।
तपाईंको दुख देखेकोले होला
संसारका सबै दुख झिना- मसिना देखेको छु ।
बा हुन गार्हो छ भन्थे सबै
तर बा नहुँदा कति गार्हो छ त्यो मैले मात्र भोगेको छु ।

Friday, December 25, 2015

कविता - राता फूलहरु

ए राता फूलहरु हो,
तिमिहरु फुल्न बन्द गर
मेरो खुशीको लागि झुन्डिएर मर
भनेको मान,
तिमीहरु आफ्नो वंश नाश गर
आइन्दा मेरो नजरमा पर्दै नपर
के खोट देख्यौ र फुलेनौ मेरि आमाको सिउँदोमा ?
यदि फुल्ने नै हौ भने...
कहिलेकाँही मेरि आमाको सिउँदोमा पनि फुल्ने गर ।

ए देउताहरु हो,
तिमीहरु बसाई सरेर जाउ
अब कहिल्यै फर्केर नआउ
भनेको मान,
स्वर्गमै आफ्नो मन्दिर बनाउ
स्वर्गमै आफ्नो घरबार बसाउ
हैन यतै बस्ने मन छ भने
एउटा सर्त पूरा गर,
मेरि आमाले कुल्चिदा मन्दिर अपवित्र भयो भन्ने
तिम्रो भक्तलाई
मेरै आमाको पाउ समातेर माफी माग्न लगाउ । 

ए लोग्नेमान्छे हो,
किन यति घमण्डी बन्छौ ?
किन यति पाखण्डी बन्छौ ?
हिजो आफ्नै आमालाई ज्युँदै जलायौ
आज बोक्सी भनेर दिशा कोचायौ
किन यति क्रूर बन्छौ ?
नारी बिना त तिमी फगत सुन्य हौ  महाशय
तर पनि किन आफुलाई मै हुँ भन्छौ ?


Saturday, September 12, 2015

माग्नेहरुको देश

आफ्नो कालो छाला देखेर
कालो दुर्व्यवहार गर्नेहरु सँग
ढाका टोपी लाउने मान्छेलाइ  मात्र
नेपाली भनि अहङ्कार गर्नेहरु सँग
दिपेन्द्र झा र हरेराम चौधरीले
मधेसमा बिद्रोह गरिरहेछन्
म नेपाली हुँ, नेपाली भन भनिरहेछन्
                      र
मागीरहेछन् आफ्नो गुमेको स्वाभिमान ।

आफ्नो थर थाहा पाएपछी
घरबाट निकालेको घरबेटी सँग
आफ्नो जात थाहा पाएपछी
प्रेम गरेर नि बिहे गर्न नमानेकी केटि सँग
दुर्गा सुनार र रामु बिकले
पहाडमा बिद्रोह गरिरहेछन्
जातिय विभेद अन्त्य गर भनीरहेछन्
                       र
मागीरहेछन् दलितको हक र अधिकार ।

कसैसँग हाँसेर बोलेकै भरमा
चरीत्रहिनको आरोप लाउनेहरु सँग
पोथी बासेको राम्रो हुन्न भन्दै
हेपाहा भालेको कुखुरी काँ गाउनेहरु सँग
अस्मिता कार्की र बिहानी पंगेनीले
सडकमा बिद्रोह गरिरहेछन्
महिला र पुरुष समान हुन् भनीरहेछन्
                        र
मागीरहेछन् आमाको नामबाट नागरिकता ।

तेरो पुर्खाले मेरो पुर्खालाई हेपेथे रे
अब म तँलाई हेप्छु भन्दै उफ्रनेहरु सँग
चुच्चो नाकको र टुप्पी पाल्नेहरु सबै
सामन्तीहरु  हो भन्दै पाखुरा सुर्कनेहरु सँग
हरि प्रसाद उपाध्याय र प्रविन क्षेत्रीले
साउदीमा बिद्रोह गरिरहेछन्
भेँडाको गोठालो म कसरी सामन्ती भनिरहेछन्
                         र
मागीरहेछन् सामन्तिको असली परिभाषा ।

जनताको अघि  चिच्याएर भाषण गर्दै
विस्तारवादी भन्दै गाली गरेकाहरु सँग
मेरो देशको सिमाका जंगे पिल्लर
रातारात सुटुक्क अन्तै सारेकाहरु सँग
मेरो देशका लज्जाविहिन नेताहरुले
विदेशी दुतावासमा अंकमाल गरिरहेछन्
प्रभुको चरणमा  लम्पसार परिरहेछन्
                         र
मागीरहेछन् प्रभुका आशीर्वादहरु ।

अचेल मलाई लाग्न थालेको छ
मेरो देशमा सबै माग्नेहरु मात्र छन्
तर थाहा छैन दिनेहरु को हुन् ??

Sunday, July 5, 2015

भ्रष्टाचार

जब ओरालो बग्ने कर्णाली भन्दा
छिटो उकालो बग्छन् आकांक्षाहरु
तब गर्ल्याम्म ढल्छन
इमानका सगरमाथाहरु
अनी बिर्सन्छन्
म को हुँ भनि मान्छेहरु
सायद यसैले नै
मौलाउँछन् भ्रष्टाचारहरु 

जब सफलता अनी सफलता
मात्र पढाउँछन् पाठशालाहरु
तब आत्महत्या गर्छन्
असल हुने सपनाहरु
र बन्द हुन्छन्
राम्रो सोचका बाटोहरु
अनी बिर्सन्छन् 
को हुँ भनि मान्छेहरु
सायद यसैले नै
मौलाउँछन् भ्रष्टाचारहरु

जब पसिना बेच्नेहरु भन्दा नि
ठुला हुन्छन् चाकडी बेचुवाहरु
तब मक्किन थाल्छन्
समाजका धुरीखाँबोहरु
र चिप्लिन थाल्छन्
राष्ट्रप्रेमका पैतालाहरु
अनी बिर्सन्छन्
म को हुँ भनि मान्छेहरु
सायद यसैले नै
मौलाउँछन् भ्रष्टाचारहरु

जब ध्यानमग्न बुद्द भन्दा बढी
मौनमौन बस्छन् जनताहरु
तब लामो हात पार्छन्
नेता र प्रशासकहरु
र रमिते हुन्छन्
हाम्रै सरकारहरु
अनी सोच्न थाल्छन्
म को हुँ भनि मान्छेहरु
अनी प्रश्नको घेरामा
पर्दछन् भ्रष्टाचारहरु

खबरदार..भ्रष्टाचारी
अब जागेका छन्
नेपाली मनहरु
बस्न थालेकाछन्
भोका अनसनहरु 
कठघरामा उभ्याउनेछन्
तिम्रा भ्रष्टाचारहरु

Saturday, October 4, 2014

दशैं

मान्छेको आफ्नो सम्पती भन्नु के हो ? वर्तमानमा आफुसँग भएको धन/पैसा,घर,गाडी,जग्गा लागायतका भौतिक बस्तु ? अथवा विगतमा आफुले गरेका कामको तिता-मिठा स्मृतिहरु ? कि भविष्यमा आफ्नो मृत्युपछी यो यस्तो थियो यो उस्तो थियो भनेर मान्छेले आफूमाथी गरेका मुल्याकंनको बोली ? सर्सर्ती सोच्दा यि तिनै चिज हाम्रा सम्पति हुन् । यि मध्येपनी सबैभन्दा मुल्यवान सम्पती कुन होला ? यसमा हामीहरुका आफ्नै छनोट र तर्क होलान् । हामीलाई कहिले भौतिक बस्तु कहिले स्मृतिहरू त कहिले मृत्युपछिका मुल्याकंनहरु महत्वपुर्ण र मुल्यवान सम्पतिहरु लाग्न सक्छन् । मलाइ भने कुन चाहिँ मुल्यवान भन्ने कुरा समय,परिस्थिति र मनस्थितीमा निर्भर गर्छ जस्तो लाग्छ । र आज मैले गुजारिरहेको समय सामना गरिरहेको परिस्थिती र मेरो आफ्नै मनस्थितीले सबैभन्दा मूल्यवान सम्पती भन्नु विगका तिता-मिठा स्मृति नै हुन् भन्ने अनुभुत गराएको छ ।

समयले आज एकादशी..त्यो पनी दशैंको बेलाको । हिजैमात्र नवमी र दशैंको टिकाको दिन थियो नेपालमा । परिस्थितीले आज म आफ्नो देशभन्दा धेरै टाढाको देश कोरियामा छु । तर मनस्थितीले भने म मेरो आफ्नै गाउँमा छु । जबजब चाडवाड आउँछ तब विदेशमा बस्नेलाई आफ्नो देश,गाउँ,परिवार,साथीभाई र आफ्नो विगत एकदमै तिब्र रुपले सम्झनामा आउनेरहेछन् । यो अनुभव मैले विगत ३ बर्षदेखी गर्दै आएको छु । यसपाली समेत गरि म लगातार ४ वटा दशैंमा घरमा छैन । अर्थात मलाई ४ बर्षदेखि दशैं आएको छैन । मेरी आमालाई पनी आएको छैन दशैं यो ४ बर्षमा । यो कुरा मैले फोनमा म सँग कुरा गर्दा नरमाइलो गरि बोल्ने उहाँको बोलीबाट प्रष्ट थाहा पाउँछु ! तर पनी म भन्न छोड्दिन आमा दशैँ राम्रो सँग मनाउनु है | उसैगरी आमाले पनी मलाई भन्न छोड्नुहुन्न दशैं राम्रो गरि मनाए बा....!

यो निरस नरमाइलो बेला मलाई आफ्नो मुल्यवान सम्पतीले केहि ढाडस र केहि राहत दिन्छन् । हो,..मलाई तिनै विगतका स्मृतिले मन बहलाउन,खुशी हुन र सन्तुष्ट हुन सहयोगी भूमिका खेल्छन् । त्यसैले त मलाई यि चिजहरु सबैभन्दा मुल्यवान सम्पती लागेकोछ आज । म हराउँछु आफ्नै विगतमा र मनमनै आहा ति दिनहरु भन्छु । आहा ति दिनहरु.... जुनबेला संसार भन्नु आफ्नो गाउँठाउँ मात्र हो जस्तो लाग्थ्यो, खल्तीमा १ रुपियाँ थिएन तर मनमा लाखौँ पर्ने खुशी र ओठमा हजारौं पर्ने मुस्कान थियो । र थियो आफ्नै सुन्दर संसार । दशैं आउँथ्यो र त सँगसँगै ठुलाठुला खुशी पनी आउँथे । दिक्कलाग्दो स्कुल जानुपर्ने दिन गएर रहरलाग्दो बिदाको दिन आउँथ्यो । ठाउँठाउँबाट च्यातिएको फोहोर पुरानो लुगाको सट्टा चिटिक्क परेको नयाँ लुगा आउँथ्यो । र पैसाको स्पर्श गर्न नपाएर रुख्खिएका हातमा १०-२० रूप्पे दाम आउँथ्यो ।

दशैं आएपछि रातो माटो र चुना/कमेरोले सिंगारिएका घर चिटिक्ककी राम्री बेहुलीझैं देखिन्थे । विदेशबाट फर्किएका लाहुरेले हामी फुच्चाफुच्चीलाई एकएकवटा चक्लेट दिन्थे । त्यो बेला म मनमनै एउटा सपना बुन्थें,ठुलो भएपछी लाहुरे हुन्छु अनी धेरै चक्लेट किन्छु र अघाउन्जेल खाएर खुशी हुन्छु । तर अघाउन्जेल चक्लेट खाएर खुशी हुन नसकिने रहेछ भन्ने कुरा बिस्तारै समयले सिकायो मलाई । घटस्थापना शुरु हुन भन्दा पहिले नै हामी जुक्खोली र निउरेको जंगलमा छापामार शैलीमा कटुस/कटस खोज्ने गस्ती गर्थ्यौं । जसको एउटै कारण थियो दुर्गा लागेपछि कटुसभित्र किरा लाग्छ भन्ने बुढापाकाको भनाई । खुट्टा र हातभरी बिझ्ने कटुसका काँडाको केहि प्रवाह हुन्थेन हामीहरुलाई । हाम्रो गाविसमा मर्भुंग र दघाँस गरि २ वटा कोट ( प्राय मैदान आसपासमा हुने र सायद पहिलेका भुरे टाकुरे राजाहरु बस्ने घर - दुर्गा मन्दिर)छन् । घटस्थापनाको अघिल्लो दिन नै कोटमा को पुजारी बस्ने भनि छलफल गरेर टुङ्गो लगाउँथे । २ जना उपाध्याय बाहुन र एक जना क्षत्री पुजारी चुनिन्थे । मलाई आफु जैसी बाहुन भएकोमा सबैभन्दा नरमाइलो यही बेला लाग्थ्यो । कारण जैसी बाहुनले कोटको पुजारी हुन पाउँदैनथे । बाहुन पुजारीको हामीहरु खासै चर्चा गर्ने थिएनौं तर क्षत्री पुजारीलाई भने निकै खतरा र बलियो भनि चर्चा गर्थ्यौं । नवमीमा बलि दिने पाडा(राँगा), बोका र भेंडाको गर्धन चुडाउने मान्छे त्यहि क्षत्री पुजारी हुन्थ्यो त्यसैले नै उसको हामी यति धेरै चर्चा गर्थ्यौं ।

घटस्थापनाको दिन आमाले नयाँ टपरीमा माटो राखी त्यसमाथि जौं र मकैका दाना छरेर घरभित्र घामको प्रकास नपर्ने ठाउँमा राख्नुहुन्थ्यो । किन अध्यारोमा राखेको आमा भनेर सोध्दा घाम परे जमरा हरियो हुन्छ भन्नुहुन्थ्यो । जमरा हरियो भए के हुन्छ भन्यो भने जमरा पहेंलो हुनुपर्छ त्यसैले हरियो हुनुहुन्न भन्नुहुन्थ्यो । साँच्ची खासमा जमरा किन हरियो हुनुहुन्न भनेर मलाई अहिले पनी थाहा छैन । द्वितीयाको दिन हामी कि कुँवरको डाँडामा कि नागेधाराको डाँडामा दुइज ( द्वितीया तिथिमा उदाएको चन्द्रमा) हेर्न भनेर जान्थ्यौं | त्यो दिन चन्द्रमा सुकेनास लागेर सुकेको बालकजस्तो र हसिँया जस्तै घुमेको देखिन्थ्यो । त्यो दिन चन्द्रमा देखे धर्म हुन्छ भन्थे दिदीहरु । धर्म कमाउने लोभमा हामी चन्द्रमा हेर्न जान्थ्यौं । त्यसपछि नवमी सम्म फूलपाती र महाअष्ठमीजस्ता (कालरात्रि) मुख्य दिन परे पनी हामी सानो भएकोले कोटमा हेर्न जान अनुमति हुने थिएन घरबाट । त्यसैले यो बिचमा खासै रमाइलो हुने थिएन ।




नवमीको विहानदेखि नै कोटमा मेला हेर्न (राम हेर्न) जान नुहाउने,नयाँ लुगा लाउने,चोर्न पाए दिदीहरुको लुकाएर राखेको सेन्ट(प्रफ्युम) हान्ने अनी कपालमा बाक्लै तोरीको तेल लगाउने कार्यकम चल्थ्यो । अलि उमेर बढ्दै गएपछि भने कपालमा बाक्लो तेल लाउन र दिदीहरुको सेन्ट चोर्न छाडियो । तर पनी सके सम्म झिल्के हुने कसरत भने गरिराखियो । :) खाना खाएर कोटमा निस्कने बेला बाले जेरी खान १०-२० रुपैयाँ दिनुहुन्थ्यो । त्यो अहिलेको १०-२० लाख भन्दा धेरै ठुलो लाग्थ्यो मलाई । कहिलेकाँही आमाले सुटुक्क एक्स्ट्रा ५-१० रुपियाँ नि थप्दिनुहुन्थ्यो । जब पैसा खल्तीमा पर्थ्यो नि त्यो बेला खुट्टाले एकलट धर्ति छाड्थे, मतलब भुइँमा खुट्टा हुने थिएनन् । कोट गएपछि पटका बन्दुक,बेलुन र मिठाई किन्दा पैसो सकिन्थ्यो । केहि समय स्कुलका साथिहरु भेटेर गफ मारिन्थ्यो । केहि समय राँगा पाठा काटेको हेरेपछि अलि ठुला दाईदिदीहरुको पिछा गरिन्थ्यो । पिछा लागिरहेपछी तिनले जेरी जो खुवाऊंथे । :) कोटबाट फर्केपछि कती राँगा एकै चोटमा छिनिएनन्,काठेपिङ(रोटेपिङ) खेल्दा को डरायो लागायत यस्तै कुरा चलिरहन्थे हामी केटाहरुबीच ।

हिजैमात्र नुहाएर पनी फेरी दशमीको दिन पनी नुहाउनै पर्दा भने एकदम झ्याउ लाग्थ्यो । सबै तयारी पुरा भएपछी दाई,दिदिहरु,म,बहिनी,भाउजु र भतिज/भतिजी क्रमैसँग बसेर बुवाआमाको हातबाट टिका जमरा लगाउँथ्यौं । टिका लगाएपछी दिदी-बैनीहरुलाई र भतिजीहरूलाई बुवाआमाले पैसा दिनुहुन्थ्यो | तर हामी छोरा/नातीले भने पैसा पाउँदैनथ्यौं । मलाई फेरी एकचोटी आफु छोरो भएर जन्मेकोमा ठुलो पछुतो हुन्थ्यो । टिका लगाउँदा बुवाआमाले अनेक आशिष दिनुहुन्थ्यो । मलाई एकदमै लाज लाग्थ्यो त्यो बेला । बुवाआमापछी दाई दिदि भाउजुले पनी टिका लगाईदिन्थे । अनी एकछिनमा खाना खाएपछि बैनी र म सँगै गाउँमा टिका लगाउन निस्कन्थ्यौं ! हाम्रो साथमा टिका लगाएपछी गाउँलेले खानदिने रोटी जम्मा गर्ने एउटा ठुलो प्लास्टिकको ब्याग पनी हुन्थ्यो । त्यसरी संगालेको रोटी पछी खान क्या मज्जा हुन्थ्यो । :) टिका लगाएर बैनीलाई दिने दक्षिणा (पैसा) आधाआधा बाँड्ने सर्तमा मैले बैनीलाई आफुसँगै गाउँमा टिका लगाउन लैजान्थें । मसँगै हिड्न पाउने भएपछी बैनीले नि सर्त खुशीले स्विकार्थी । तर त्यसमाथि पनी मेरो अर्को एउटा सर्त हुन्थ्यो बैनीलाई ... हाम्रो यो सम्झौता घरमा अरु कसैलाई थाहा नहोस् नि भन्ने । विचरी हुन्छ भन्ने संकेतको टाउको हल्लाउँथि । यसरी मैले जे भने पनी खुरुक्क मान्दा मलाई बैनीको धेरै माया लाग्थ्यो । अनी म मेरो पछिपछी रोटी जम्मा गर्ने ब्याग बोकेर आइरहेकी बैनीलाई फर्केर हेर्थें । मैले हेर्दा बैनी मुसुक्क हाँस्थी अनी म पनी गजक्क परेर हाँस्दीन्थें ।

टिकाको पर्सिपल्ट दघाँसको सरायँ(गुल्मी,पाल्पा र अर्घाखाँचीमा प्रख्यात दशैं विशेष नाँच)अनी त्रिरादाशीको दिन ठुल्चौरको सरायँ र पुर्णिमाको दिन अर्जेको सरायँ हेर्ने,खोरखोरे(लंगुरबुर्जा) खेल्ने,जेरी खाने र काठेपिङ खेल्ने लगायतका विविध रमाइलो सँगै दशैं जान्थ्यो । त्यसरी धुमधाम रमाइलो गराएर जान्थ्यो र पो दशैं पनि दशैं जस्तो लाग्थ्यो । तर अहिले त यसरि अर्काको देशको एउटा कोठामा बसाएर विगतका दशैंका स्मृतिहरु ल्यापटपको किबोर्डमा छरपस्ट पार्न लगाएर जाने दशैं कम्तिमा मेरो लागी दशैं जस्तो नबनी गयो ।।




{ फोटो श्रोत: www.google.com }