गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Sunday, April 9, 2017

सिरिया- प्रयोगशाला
















बसरको सरकारको तमसुकमा ल्याप्चे लगाउन
कुन रसायन मिसिएको आँशु चाहिएको छ ?
बताउ बसर .. बताउ पुटिन
हैन भने किन गरिरहेछौ
मान्छेका बचेरामाथी रासयानिक आक्रमण ?
किन संगालिरहेछौ बाल्टीन भरि
 बचेराको जिवनकै अन्तिम आँशु ?


बसरको सरकार फेर्न र उडाउन
कुन गन्ध मिसिएको हावा चाहिएको छ ?
बताउ ओबामा... बताउ ट्रंप
हैन भने किन गरिरहेछौ मिसाइल आक्रमण ?
किन सासै फेर्न दिएका छैनौ सिरियालीलाई ?
किन संगालिरहेछौ ग्यालेन भरी
उनैको जीवनकै अन्तिम प्राणवायु ?


अति भयो...
बन्द गर तर्क, बन्द गर क्रोध
बन्द गर समर्थन, बन्द गर बिरोध
बन्द गर दिमाग, बन्द गर विजय
खुल्ला गर मानवता, खुल्ला गर हृदय..!!




Saturday, February 18, 2017

रोबोट

'सजिन सानब' भन्ने एउटा कारखाना छ
त्यहाँ काम  गर्ने एउटा अजिव मानव छ !


काम गर्दागर्दै उ हरेक घण्टामा अनेक सोच्छ
उ आफुलाई कामदार भन्दा बढी कवी सोच्छ
र मनको पानामा लेखिरहन्छ
आफ्नो जिन्दगि जस्तै
के नमिले के नमिले जस्तो लाग्ने
छन्द नमिलेका कविताहरु !


उसले भर्खरै मनमा लेखेर
मनमै च्यात्यो एउटा उ जस्तै 'अभागी'  कविता
त्यो च्यातिएको कविता यस्तो थियो.....
" यो सम्झना छैन मलाई
कहाँ आइपुगें म, कहाँ जान हिँडेथें
हातमा छ कात्रो खै किन किनेथें
तर सधै सम्झना छ मलाई
कात्रो उधारो दिने साउजिको अनुहार
कमाउन सकेछु भने उनलाई कात्रोको पैसा दिनेथें !"


अहो ! आज त उ आफुलाई  गायक लाउँदैछ
मेसिनको  कर्कस जित्ने गरि गाउँदैछ
नारायण गोपालको उ जस्तै वैरागी गित
यो सम्झने मन छ, म बिर्सुं कसोरी.....!


गाइरहेको उसलाई गाली गर्दै कोहि करायो
रोबोट बिग्रिराछ भन्दै रोबोट बनाउन अर्हायो
तर उसले रोबोट नबनाई
टाउको छाम्यो र आफ्नै गाला मुसार्यो
एक तमासले आफैलाई हेर्यो र आफैमा हरायो
सायद उसले सोच्दैहोला
रोबोट सँग काम गर्दागर्दै
म पनि रोबोट हुन पाए
कति सजिलै बन्थ्यो होला मेरो यो बिग्रेको जिन्दगि !!

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

( यो कविता नेपाली साहित्य समाज दक्षिण कोरियाले आयोजना गरेको साहित्यिक कार्यक्रममा मैले बाचन गरेको थिएँ । भिडियोको लिंक तल छ 
 https://www.youtube.com/watch?v=ye8pgoJkrO0 )












Friday, February 17, 2017

बिदा

हरेक सोमबार 
मैले पाँच सेकेन्ड नलगाई गन्छु 
अब पाँच दिनपछि बिदा हुन्छ 
अनि  सोच्छु 
पाँच दिनपछि फेरी एकचोटी
म गधा बाट मान्छे बन्छु 



Thursday, November 3, 2016

पाहुना

आमा,
तिमिले भन्ने गर्थ्यौ
पाहुना देउता सरह हुन्
तिनलाई बस्ने बास दिनुपर्छ
खानलाई गास दिनुपर्छ
ओढ्न कपास दिनुपर्छ ।


आमा,
पोहोर तिम्रो घाँटी थिचेका
परार हाम्रो आँठो मिचेका 
छिमेकी ठुल्दाइ हिजो हाम्रोमा आए
हाम्रा जेठा दाइले उनको भजन गाए
जेठो दाइले हामीलाई यो भने
हाम्रोमा आएपछि तिनी पाहुना भए रे
पाहुना देउता सरह हुन् भन्थ्यौ नि
अब त ठुल्दाइ  देउता भए रे ।


आमा,
 हाम्रो जेठो दाइलाई के भएको ?
ती पाहुनासँग न त आँठो मिचेको बारे बोल्यो
न त घाँटी थिचेको बारे बोल्यो
उसले त एउटै काम मात्र गर्यो
हामि भाइबैनी सबैलाई कोठाभित्र थुन्यो
बाहिर ढोकामा लम्पसार पर्यो
अनि छिमेकी पाहुनाको पाउ मोल्यो


आमा,
मलाई एउटा कुरा भन
के तिमीले जेठो दाइलाई यहि सिकाएकी हौ ?
सिकाएकी हौ भने
आजबाट तिमीलाई आमा मान्दैन
सिकाएकी हैनौ भने
तिम्रो घाँटी थिच्ने पाहुनालाई देउता भन्दैन ।

Wednesday, March 2, 2016

बिरामी

मैले बोलाएपछी मात्र बोलेजस्तो गर्ने आफन्तहरु
मैले बोल्न नचाहँदा पनि बोलाइरहने पराइहरु
सायद, आफ्नै जिन्दगिको  लय गाउनमै ब्यस्त छन्
सायद, सम्झन नचाहनेलाई बिर्सनमै अभ्यस्त छन्
ति सबै-सबैलाई
एउटै छ यो दिलको आवाज
बिर्सिन चाहेकोलाई चटक्कै बिर्साउनु 
जिन्दगिको लय झनै सुरिलो गरि गाउनु
तर कहिलेकाहीँ,
हाम्रो पनि सन्चो-बिसन्चो सोध्नलाई आउनु ।।