Friday, February 17, 2017
बिदा
Thursday, November 3, 2016
पाहुना
पाहुना देउता सरह हुन्
तिनलाई बस्ने बास दिनुपर्छ
खानलाई गास दिनुपर्छ
ओढ्न कपास दिनुपर्छ ।
परार हाम्रो आँठो मिचेका
छिमेकी ठुल्दाइ हिजो हाम्रोमा आए
हाम्रा जेठा दाइले उनको भजन गाए
जेठो दाइले हामीलाई यो भने
हाम्रोमा आएपछि तिनी पाहुना भए रे
पाहुना देउता सरह हुन् भन्थ्यौ नि
अब त ठुल्दाइ देउता भए रे ।
ती पाहुनासँग न त आँठो मिचेको बारे बोल्यो
न त घाँटी थिचेको बारे बोल्यो
उसले त एउटै काम मात्र गर्यो
हामि भाइबैनी सबैलाई कोठाभित्र थुन्यो
बाहिर ढोकामा लम्पसार पर्यो
अनि छिमेकी पाहुनाको पाउ मोल्यो
के तिमीले जेठो दाइलाई यहि सिकाएकी हौ ?
सिकाएकी हौ भने
आजबाट तिमीलाई आमा मान्दैन
सिकाएकी हैनौ भने
तिम्रो घाँटी थिच्ने पाहुनालाई देउता भन्दैन ।
Wednesday, March 2, 2016
बिरामी
मैले बोलाएपछी मात्र बोलेजस्तो गर्ने आफन्तहरु
मैले बोल्न नचाहँदा पनि बोलाइरहने पराइहरु
सायद, आफ्नै जिन्दगिको लय गाउनमै ब्यस्त छन्
सायद, सम्झन नचाहनेलाई बिर्सनमै अभ्यस्त छन्
ति सबै-सबैलाई
एउटै छ यो दिलको आवाज
बिर्सिन चाहेकोलाई चटक्कै बिर्साउनु
जिन्दगिको लय झनै सुरिलो गरि गाउनु
तर कहिलेकाहीँ,
हाम्रो पनि सन्चो-बिसन्चो सोध्नलाई आउनु ।।
Saturday, January 2, 2016
बा
बा...
साउँखोलाको पानीमा
हजुरले मेरो लागि बगाएको पसिना देखेको छु ।
तपाईंको दुख देखेकोले होला
संसारका सबै दुख झिना- मसिना देखेको छु ।
बा हुन गार्हो छ भन्थे सबै
तर बा नहुँदा कति गार्हो छ त्यो मैले मात्र भोगेको छु ।
Friday, December 25, 2015
कविता - राता फूलहरु
ए राता फूलहरु हो,
तिमिहरु फुल्न बन्द गर
मेरो खुशीको लागि झुन्डिएर मर
भनेको मान,
तिमीहरु आफ्नो वंश नाश गर
आइन्दा मेरो नजरमा पर्दै नपर
के खोट देख्यौ र फुलेनौ मेरि आमाको सिउँदोमा ?
यदि फुल्ने नै हौ भने...
कहिलेकाँही मेरि आमाको सिउँदोमा पनि फुल्ने गर ।
ए देउताहरु हो,
तिमीहरु बसाई सरेर जाउ
अब कहिल्यै फर्केर नआउ
भनेको मान,
स्वर्गमै आफ्नो मन्दिर बनाउ
स्वर्गमै आफ्नो घरबार बसाउ
हैन यतै बस्ने मन छ भने
एउटा सर्त पूरा गर,
मेरि आमाले कुल्चिदा मन्दिर अपवित्र भयो भन्ने
तिम्रो भक्तलाई
मेरै आमाको पाउ समातेर माफी माग्न लगाउ ।
ए लोग्नेमान्छे हो,
किन यति घमण्डी बन्छौ ?
किन यति पाखण्डी बन्छौ ?
हिजो आफ्नै आमालाई ज्युँदै जलायौ
आज बोक्सी भनेर दिशा कोचायौ
किन यति क्रूर बन्छौ ?
नारी बिना त तिमी फगत सुन्य हौ महाशय
तर पनि किन आफुलाई मै हुँ भन्छौ ?